Logo

बागमती पेज

श्रावण ९, २०८१ बुधबार

सौर्य एयरलाइन्सको विमान दुर्घटना : १८ जनाको मृत्यु


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा १८ जनाको मृत्यु भएको छ। क्यानका प्रवक्ता हंशराज पाण्डेले जहाज दुर्घटनामा १८ जनाको शव भेटिएको जानकारी दिए। उनले जहाज दुर्घटनामा घाइते पाइलट मनिष शाक्यको उद्दार गर उपचारका लागि अस्पताल पठाइएको बताए।

काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९एन एएमई जहाज बुधबार बिहान करिब ११ बजेतिर दुर्घटना भएको हो । जहाज उड्नेवित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ पर्ने नजिकैको क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।

प्रवक्ता पाण्डेले मृतकहरूको सनाखत हुन बाँकी रहेको जानकारी दिँदै शवहरू त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टमका लागि पठाइएको बताए ।

जहाज मर्मतका लागि भनेर काठमाडौँबाट पोखराका लागि उडेको खुलेको छ । एयरलाइन्सका अध्यक्ष दीपक पोख्रेलले जहाज ममर्तका लागि पोखरा पठाइएको पुष्टि गरे । दुर्घटनामा चालक मनिष शाक्यलाई घाइते अवस्थामा उद्धार गरेर काठमाडौँ मेडिकल कलेज पठाइएको छ ।

विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भुईँमा खसेको बताइएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले विमानस्थलबाट उड्नेबित्तिकै जहाज एकाएक खसेको जानकारी दिए ।