Logo

बागमती पेज

श्रावण २४, २०८१ बिहीबार

गगनको नजरमा कांग्रेस रूपान्तरणका लागि गर्नुपर्ने ११ संकल्प


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले थुप्रै इन्द्व, हिंसा र निरङ्कुश सत्तालाई झेलेर उदाएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई फेरि अर्को सङ्कटको भूमरीमा पार्न खोजिएको आशंका गरेका छन् ।

महासमितिको बैठकमा सांगठनिक प्रस्ताव आएका सुझावलाई समेटेर परिमार्जनसहित केन्द्रीय समितिको बैठकमा पेश गरेको प्रस्तावमा राजनीतिक अभीष्ट पूरा गर्न चाहने पश्चगामी शक्ति र पपुलिस्ट प्रवृत्ति हावी भएको बताएका छन्।

प्रतिवेदनमा भनिएको छ- मुलुकलाई पुनः पछाडि धकेल्न चाहने सबै शक्ति र प्रवृत्तिलाई पराजित गर्न पनि नेपाली कांग्रेस पार्टीभित्र र बाहिर दुवै तिर उही पूरानै उत्साहको उर्जा चाहिएको छ। देशको सबैभन्दा पूरानो र ऐतिहासिक महत्वका क्षणमा हरदम नेतृत्व लिँदै आएको पार्टी भएका कारण यहाँ भएका परिवर्तन र त्यसबाट जनताको जीवनस्तरमा पर्ने प्रभावप्रति कांग्रेसको ठूलो जिम्मेवारी छ।

सबै नेपाली सुखी हुने द्वन्द्व र शोषणरहीत समतामूलक स्वावलम्बी समाजको निर्माण गर्न सकियो भनेमात्र अग्रजको बलिदानको सम्मान अनि कांग्रेस पार्टीको अस्तित्वको औचित्य पुष्टी गर्न सक्ने जिकिर गरेका छन्। उनले कांग्रेसलाई रुपान्तरण गर्न बैठकले ११ प्रण गर्नुपर्नेले सुझाएका छन्।

-हाम्रै नेतृत्वमा बनेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको स्वामित्व लिँदै उच्च आत्मविश्वासका साथ यसको रक्षा र कार्यान्वयन गर्नेछौं, राजनीतिक स्थीरता एवं संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशीतालाई थप सुदृढ बनाउन तथा संविधानमा सवैको अपनत्व वढाउन संविधानमा आवश्यक संसोधनका लागि हामीले नै पहलकदमी लिनेछौं,

-समुन्नत नेपाल : सम्मानित नेपाली निर्माणको ध्येयमा सिङ्गो पार्टीलाई एकताबद्ध गर्दै हरेक तहमा, हरेक क्षेत्रमा क्रियाशील बनाउने छौं,

-पार्टीलाई पूर्णतः विधि थितिमा चलाउने, अभिलेख र मूल्याङ्कनको चुस्त प्रणाली बनाउँदै नयाँ पुराना सबै सदस्यलाई पार्टीभित्र समान अवसर र न्यायको अनुभूति गराउने छौँ,

-पार्टीका सबै सदस्य लोकहितको एउटै ध्येयमा बाँधिएकाले नेपाली कांग्रेस पारस्परिक एकता, आत्मियता, सहअस्तित्व र सहकार्यको भावनाले परिचालित गुटबन्दी र व्यक्तिगत स्वार्थबाट मुक्त पार्टी बनाउने छौं,

-पार्टीलाई जरैदेखी समावेशी बनाउदै संविधानको मर्म अनुरुप प्रतिनिधित्व र निर्णय प्रक्रियामा सवै क्षेत्र, वर्ग, जाती, समुदाय र लिङ्गको पहुँच पुग्नेगरी पार्टी संरचनाको विकास गर्ने र पार्टीको तर्फबाट अवसर प्रदान गर्दा समावेशी ढङ्गबाट गर्ने कुराको सुनिश्चत गर्नेछौं,

-जनता र समुदायका विषय र चासोलाई विशेष प्राथमिकतामा राख्दै पार्टीमा बहस, संवाद, प्रशिक्षण, छलफल अन्तर्क्रिरयामार्फत पार्टीलाई विचारको केन्द्र बनाउने छौँ, पार्टीका सदस्यहरुमा निरन्तर आफ्नो ज्ञानको दायरा वृद्धिका लागि उत्प्रेरित गर्न पार्टीमा त्यस्तो अवसर दिने संरचना बनाउने छौं,

-सबै किसिमका भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति लिँदै भ्रष्टाचार गर्ने व्यक्ति जतिसुकै शक्तिशाली भए पनि कानून अनुसार दण्डित हुनैपर्छ भन्ने मान्यतामा नेपाली कांग्रेस पार्टी अडिग र अविचलित रहने छौं,

-पार्टीलाई सामाजिक रुपान्तरणको संवाहक बनाउने, महिलामाथि हुने हिंसा, जातीय विभेद र छुवाछुत लगायतका सामाजिक कुरिती विरुद्ध अग्रसर रहँदै पार्टीका अभियानलाई सामाजिक आन्दोलनसँग जोड्ने छौं

-पार्टीले आफूले नेतृत्व गरेका सबै तहका सरकार सञ्चालनका लागि सुशासनलाई मन्त्र बनाई जनतालाई निरन्तर तिनका मुद्दासँग जोडिएको अनुभूति गराउने छौंस अवसर पाएको बेला अब्बल सेवा प्रवाह मार्फत भविष्यप्रतिको भरोसा दिलाउने छौं,

-पार्टी संगठन र समर्थक–सुभेच्छुकको ताकत र आम जनताको विश्वासमा आगामी आवधिक सबै तहको निर्वाचनमा पार्टी एक्लै लडेर पार्टीलाई पुनः एकल बहुमतसहितको लोकप्रिय पार्टीको रुपमा स्थापित गर्नेछौं,

-तमान लोकतन्त्रवानहरुको एकमात्र विश्वासिलो र आम जनताको भरपर्दो पार्टी बनाउँने छौं।