Logo

बागमती पेज

भाद्र १२, २०८१ बुधबार

१५ खर्ब राजस्व उठाउने योजना बनाउन प्रधानमन्त्रीको निर्देशन


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ खर्ब रुपैयाँसम्म राजस्व संकलन गर्ने गरी ठोस योजना बनाउन निर्देशन दिएका छन् । अहिले अर्थतन्त्रको क्षमता १५ खर्ब रुपैयाँ राजस्व दिनसक्ने भएकाले लक्ष्यअनुसार नै संकलन गर्न उनको निर्देशन छ ।

सिंहदरबारमा मंगलबार सम्बन्धित मन्त्रालय र निकायका प्रतिनिधिको छलफलमा प्रधानमन्त्री ओलीले राजस्व असुली बढाउनका लागि कडाइका साथ राजस्व चुहावट नियन्त्रण गर्न निर्देशन दिए । चोरी पैठारी, भन्सार छली, भन्सार छुट वा न्यून बिजक जारी गर्ने जस्ता गलत कार्यलाई रोक्न ओलीले निर्देशन दिए ।

गृहमन्त्री रमेश लेखकसहितको छलफलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव लीलादेवी गड्तौला, गृह र अर्थ मन्त्रालयका सचिवहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकहरु, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान अधिकृत, राजस्व अनुसन्धान विभाग, भन्सार विभागका महानिर्देशकलगायत सहभागी थिए ।