Logo

मेघनाथ पहाडी

भाद्र १३, २०८१ बिहीबार

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त


काठमाडौं। चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (डीसी) नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आजको बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो ।

फिल्म निर्देशक, अभिनेता तथा संचारकर्मी समेत रहेका डीसी सत्तारुढ एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष समेत हुन् । उनी टेलिभिजन तथा रेडियो कार्यक्रमका निर्माता र प्रस्तोताको रुपमा समेत चर्चित छन् ।

सन् १९९७ मा रिलिज भएको फिल्म ‘सुनचाँदी’बाट उनले फिल्म अभिनयमा डेब्यु गरेका थिए । उनले पछिल्लोपटक फिल्म ‘फूलैफूलको मौसम तिमीलाई’ निर्देशन गरेका थिए ।

चलचित्र निर्देशक समेत रहेका डीसी फिल्म वृत्तमा सक्रिय फिल्ममेकर हुन् । उनले वर्षेनी फिल्म अवार्डको समेत आयोजना गर्दै आइरहेका छन् ।

चलचित्र विकास बोर्डको अध्यक्षको रुपमा आवेदन दिँदै उनले फिल्म बजार विस्तार गर्ने, बक्सअफिसलाई सुचारु गर्ने, नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणमा कार्य गर्ने बताए।

निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो ।