Logo

बागमती पेज

भाद्र ३०, २०८१ आईतबार

पनौती नगरपालिकाले पशुपन्छीको निःशुल्क बिमा गरिदिने


काठमाडौँ । काभ्रे जिल्लाको पनौती नगरपालिकाभित्र किसानका करिब एक लाख ५० हजार पशुपन्छी छन्। ती पशुपन्छीहरूको बिमा शुल्क पनौती नगरपालिकाले व्यहोर्ने भएको छ। नेपाल सरकारको ८० प्रतिशत अनुदानबाहेक बाँकी २० प्रतिशत बिमा शुल्क नगरपालिकाले व्यहोर्ने भएको हो। नगरपालिकाले यसअघि ५० प्रतिशत शुल्क व्यहोर्दै आएको थियो।

आइतबार पनौती नगरपालिका– ५ बाट पशुपन्छीको निःशुल्क बिमा शुभारम्भ गरिएको छ। पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले एउटा भैँसीको कानमा ट्याग लगाएर निःशुल्क पशुपन्छी बिमा कार्यक्रमको शुभारम्भ गरेका हुन्।

कार्यक्रम शुभारम्भ गर्दै नगरप्रमुख भण्डारीले किसानको आर्थिक अवस्था उकास्न निःशुल्क बिमा कार्यक्रम सुरु गरेको बताए। वडा नं. ५ बाट सुरु भएको कार्यक्रम पनौतीका सबै वडामा लागू गरेको उनले बताए। किसानको लगानी शुनिश्चितता र किसानको आर्थिक उन्नति होस् भन्ने हेतुले सो कार्यक्रम ल्याएको उनको भनाइ छ।

नेपाल सरकारले पशुपन्छीको बिमामा ८० प्रतिशत अनुदान दिन्छ। किसानले तिर्नुपर्ने बाँकी २० प्रतिशत नगरपालिकाले व्यहोरेकाले किसानका लागि पशुपन्छी बिमा निःशुल्क हुने उनले बताए।

पनौती नगरपालिकाका पशु विकास शाखा प्रमुख डा. दिपीका रेग्मीका अनुसार नगरपालिकाभित्रका किसानले करिब एक लाख कुखुरा, ३० हजार बाख्रा, १० हजार गाई, ६ हजार भैँसी र दुई हजार पाँच सय बंगुर पालेका छन्। ती सबै पशु तथा पन्छीको निःशुल्क बिमा गर्ने उनले बताइन्।