Logo

मेघनाथ पहाडी

आश्विन ६, २०८१ आईतबार

बुढानिलकण्ठ र सोट्टो नेपालको पदयात्रा भब्य रुपमा सम्पन्न


काठमाडौं । ४५ औँ विश्व पर्यटन दिवसको अवसरमा बुढानिलकण्ठ नगरपालिका र सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल (सोट्टो नेपाल)को संयुक्तरुपमा आयोजित पदयात्रा कार्यक्रम सम्पन्न भएको छ । उत्साहजनक रुपमा उपस्थिति रहेको पदयात्राले बुढानिलकण्ठ नगरपालिकाभित्रको उत्कृष्ट सांस्कृतिक र प्राकृतिक सम्पदाको उजागर गरेको छ ।

यस वर्षको पर्यटन दिवसको नारा ‘पर्यटन र शान्ति’ भएको र सोही सन्देशसहित बुढानिलकण्ठ मन्दिर–मुहानपोखरी–विष्णुद्धार–डाँडागाउँ होमस्टेसम्मको प्रचार प्रसार एवं प्रवर्द्धन गरिएको हो ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्राकृतिक क्षेत्रको सांस्कृतिक महत्व एवं होमस्टेको अर्गानिक खाना लगायत त्यहाँको सम्पदाबारे नगरप्रमुखले सबैलाई जानकारी दिँदै घुमौं बुढानिलकण्ठ भन्ने अभियानका साथ नगरपालिका अगाडि बढेको जानकारी गराएका थिए।

नगरपालिका उपप्रमुख अनिता लामाले पदयात्रा समापनमा डाँडागाउँसम्मको संस्कृति र प्रकृतिको सदुपयोगमार्फत अर्थाेपार्जनको उपयुक्त माध्यम बनाउन आफूहरु लागिरहेको जानकारी दिइन् । पदयात्रालाई बिक्री गर्न योग्य बनाउन सबै मिलेर लाग्नुपर्नेमा उनले जोड दिइन् ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले नयाँ–नयाँ रुट प्रवर्द्धन गर्न बुढानिलकण्ठ नगरले आयोजना गरेको पदयात्राको प्रसंशा गर्दै बोर्डले प्रचार प्रसार एवं सहकार्यका लागि संधै तयार रहेको बताए ।

बुढानिलकण्ठ नगरपालिका पर्यटन बोर्डका अध्यक्ष अर्जुन पाण्डेले यस क्षेत्रको प्रचार प्रसारमा सबैको सहयोग आवश्यक रहेको बताए । उनले आगामी दिनमा नगर पर्यटन बोर्डले विभिन्न फरक कार्यक्रम गर्दै नगरलाई पर्यटकीय क्षेत्र बनाउन लागि पर्ने बताए ।

नेपाल पर्यटन बोर्ड, बुढानिलकण्ठ नगरपालिका पर्यटन बोर्ड, जनप्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, पर्यटन व्यवसायी लगायत करिब २०० जनाको उपस्थितिमा एक दिवसीय पदयात्रा सम्पन्न गरिएको थियो ।

पदयात्रा समापन गर्दै सोट्टो नेपालका अध्यक्ष भुवन पाण्डेले सबै दल र तीन तहको सरकार मिलेमा पर्यटन दिवसको नाराअनुरुप पर्यटन र शान्ति कायम हुने बताउँदै सांस्कृतिक एवं प्राकृतिक सम्पदामार्फत पाहुनालाई पटक–पटक आउने बनाउन सबै मिलेर लाग्नुपर्ने धारणा व्यक्त गरे ।