नेपाल पत्रकार महासंघ ओखलढुंगा शाखाको अध्यक्षमा पूर्णप्रसाद न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । महासंघको २७ औं महाधिवेशन अन्तर्गत १ पदमा १ व्यक्तिको मात्रै उम्मेदवारी परेपछि अध्यक्षमा न्यौपानेसहित १७ जना निर्विरोध निर्वाचित भएका हुन् ।
महासंघको उपाध्यक्षमा रविन श्रेष्ठ, समावेशी उपाध्यक्षमा शारदा राई, सचिवमा मिनाकुमारी श्रेष्ठ (शेर्पा), सहसचिवमा नविन धमला र स्यारोन शेर्पा, कोषाध्यक्षमा रितादेवी तामाङ्ग निर्विरोध निर्वाचित भएका छन् ।
सदस्यहरुमा शेरबहादुर राई (एसबी जेरो) लिला श्रेष्ठ, सरस्वती बानिया, कृष्णजित राई, प्रविण मुदेल र माया राई निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता गुरुबहादुर बस्नेतले जानकारी दिए ।
पत्रकारको विधान अनुसार राष्ट्रिय परिषद् सदस्यमा दीपेन्द्र रुम्दाली, प्रदेश परिषद् सदस्यहरुमा विनुमाया राई, विक्रम चेतनशिल राई र मिङ्गमार शेर्पा चयन भएका छन् ।
कुनै पदमा १ भन्दा बढी व्यक्तिको उम्मेदवारी नपरेपछि जिल्ला समिति निर्विरोध बनेपनि अौपचारिक घोषणा हुन बाँकी रहेको निर्वाचन संयोजक कुलबहादुर तामाङले बताए । २८ गते प्रदेश र केन्द्रको लागि मतदान र मतगणना सकेपछि जिल्ला समिति निर्वाचित भएको घोषणा गरिने संयोजक तामाङको भनाइ छ ।
नव निर्वाचित अध्यक्ष न्यौपाने महासंघका वर्तमान सचिव हुन् । त्यसअघि उनि महासंघको कार्यसमिति सदस्यको भूमिकामा थिए ।
राष्ट्रिय समाचार समिति, रेडियो नेपाल, नयाँ पत्रिका, भिजन एफएम, भिजन नेपाल साप्ताहिक, अनलाईन सरोकारलगायत सञ्चारमाध्यममा आबद्ध न्यौपाने ओखलढुंगाका लोकप्रिय एवम् सकृय पत्रकार हुन् ।
प्रतिक्रिया दिनुहोस्