काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ स्थित ॐ समाज संस्थाले आफ्नो सातौं वार्षिक साधारण सभाको आयोजना सम्पन्न गरेको छ।
कार्यक्रमको अध्यक्षता नर बहादुर तामाङ (सोनम) गरेका थिए भने समाजका सम्पूर्ण सदस्यहरूको उपस्थिति रहेको थियो। सभाले विगत वर्षका कार्यहरूको समिक्षा गर्दै आगामी योजनाहरूको खाका प्रस्तुत गरेको थियो। सभामा समाजका सदस्यहरूबीच गहन छलफल र विचार-विमर्श भएको थियो, जसले संस्थाको भावी रणनीतिलाई सशक्त बनाउने विश्वास लिइएको छ।
समाजका मुख्य उपलब्धिहरू
यस वर्ष ॐ समाज संस्थाले समुदायका लागि उल्लेखनीय कार्यहरू सम्पन्न गरेको छ। सभामा प्रस्तुत प्रतिवेदनमा संस्थाले गरेको कामहरूको विवरण राखिएको थियो। सरसफाइ अभियानलाई प्रोत्साहन गर्न समाजले सडक पोलहरूमा डस्टबिन राख्ने योजना सफलतापूर्वक सम्पन्न गरेको थियो। यसले स्थानिय क्षेत्रमा सफाइको स्तर सुधार गर्न सहयोग पुर्याएको छ।
यसैगरी, हिन्दु महिलाहरूको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा विशेष कार्यक्रमको आयोजना गरियो। समाजले विजयादशमी र दीपावलीको अवसरमा विविध सांस्कृतिक तथा धार्मिक कार्यक्रमहरू सञ्चालन गरी समुदायलाई एकताबद्ध गर्यो। यस्ता गतिविधिहरूले परम्परा र संस्कृतिको जगेर्ना गर्नुका साथै नयाँ पुस्तालाई पनि संस्कृतिसँग जोड्ने काम गरेको सभामा उल्लेख गरियो।
खानेपानी र पूर्वाधार सुधारका कार्यहरू
सभामा खानेपानीका समस्या समाधान गर्न समाजले चालु आर्थिक वर्षमा गरेका प्रयासहरूको बारेमा जानकारी दिइयो। ॐ चोक क्षेत्रभित्र पानीको मीटर जडानका कामलाई व्यवस्थापन गरी स्थानीयको कठिनाइ घटाउन भूमिका खेलिएको बताइयो। त्यस्तै, ॐ चोकभित्रका सडकमा ब्लक राख्ने र सडक मर्मत गर्ने कार्य सम्पन्न गरिनुले क्षेत्रको पूर्वाधार सुधारमा महत्वपूर्ण योगदान पुगेको सभामा चर्चा भयो।
देउसी-भैलो कार्यक्रमबाट सामाजिक कार्य
देउसी-भैलो कार्यक्रममार्फत संकलित रकमलाई सामाजिक कार्यमा सदुपयोग गरिएको थियो। समाजले बनभोज कार्यक्रम आयोजना गरेर सदस्यहरूबीच आपसी भाइचारा र मेलमिलापलाई अझ सुदृढ बनाएको छ। साथै, जेष्ठ नागरिकहरूको सम्मानमा विशेष कार्यक्रम आयोजना गरी उनीहरूको योगदानको कदर गरिएको थियो। यस्ता क्रियाकलापहरूले समाजमा सन्देशमूलक प्रभाव पार्ने विश्वास व्यक्त गरियो।
सभामा छलफल भएका विषयहरू :-
सभामा विगत वर्षका यी उपलब्धिहरूलाई समेट्दै आगामी योजनाहरूको खाका प्रस्तुत गरियो। सदस्यहरूले सामाजिक कामलाई अझ सुदृढ बनाउनका लागि विभिन्न सुझावहरू दिए। समाजले प्राथमिकताका साथ मौलिक चाडपर्वहरूलाई संरक्षण र प्रोत्साहन गर्न काम गर्ने योजना अघि सारेको छ। स्थानीय बत्ती विस्तार, छरिएका तारहरूको व्यवस्थापन, र बाँकी रहेका विकासे कार्यहरूलाई समयमै सम्पन्न गर्ने योजना पनि प्रस्तुत गरियो।
प्रत्येक शनिबार टोलस्तरीय सरसफाइ अभियान सञ्चालन गर्ने र बागमती करिडोर क्षेत्रलाई सफा राख्ने प्रयास गर्ने विषयमा पनि गम्भीर छलफल भयो। यस्तो पहलले वातावरणीय स्वच्छता कायम गर्नुका साथै सामुदायिक सहभागितालाई अझ बढाउने विश्वास गरियो।
भावी योजनाहरू र निष्कर्ष
सभाले आगामी दिनमा ॐ चोकभित्रका बाँकी रहेका सडक सुधार कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्यो। स्थानिय बासिन्दाका समस्या समाधानमा प्राथमिकता दिने र समुदायको जीवनस्तर सुधार गर्न निरन्तर काम गर्दै जाने योजना बनाइएको छ।
यस वार्षिक साधारण सभाले ॐ समाज संस्थाको सामाजिक र विकासे कार्यहरूको महत्वलाई अझ विस्तार गर्दै भविष्यमा थप प्रभावकारी योजनाहरू लागू गर्ने आशा देखाएको छ। समाजका सदस्यहरूले सभामा देखाएको उत्साह र प्रतिबद्धता समुदायको समृद्धि र विकासतर्फको महत्वपूर्ण पाइला भएको सभाले निष्कर्ष निकालेको छ। – सागर घिमिरे
प्रतिक्रिया दिनुहोस्