Logo


कठमाण्डौ । रश्मीकुमारी घिसिङको उत्कृष्ट प्रदर्शनप्रेरित विभागीय टोली नेपाल एपिएफ क्लबले राष्ट्रिय महिला लिगको दोस्रो चरण (सुपर लिग) मा वालिङ नगरपालिकाविरुद्ध ९-० को सानदार जित दर्ता गरेको छ ।

लगातार दोस्रो जितसँगै ६ अंक जोडेको एपिएफ शीर्ष स्थानमा उक्लिएको छ । लगातार दोस्रो पराजय बेहोरेको वालिङ पुछारमा छ ।

पहिलो खेलमा एपिएफले बागमती युवा क्लबलाई ५-१ ले पराजित गर्दा वालिङले पुलिससँग ५-० को हार ब्यहोरेको थियाे ।

सोमबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा एपिएफलाई जित दिलाउन रश्मीले चार गोल गर्दा गीता राना र सरु लिम्बुलेसमान दुई र अनिता केसीले एक गोल थपे । खेलको तेस्रो मिनेटमै रश्मीको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । दुई मिनेटपछि नै गीताले टोलीको अग्रता दोब्बर बनाइन् ।

रश्मीले छैटौं र १७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि एपिएफ ४-० ले अगाडि बढ्यो ।

सुरुले ३१ र ३९औं मिनेटमा गोल गर्दा एपिएफको अग्रता ६-० मा पुग्यो । ४२औं मिनेटमा गीताले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि सातौं गोल गरिन् ।

रश्मीले ७७औं मिनेटमा व्यक्तिगत चौथो गोल गरिन् । इन्जुरी समयमा अनिताले गोल गर्दै एपिएफलाई ९-० को सनदार जित दिलाइन् ।