काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका महासचिव आशिष गुरागाईले सामाजिक सञ्जाल नियमन विधेयक हुबहु पारित गर्न नहुने बताएका छन्।
प्रेस चौतारी नेपाल उपत्यका प्रदेश कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जाललाई नियन्त्रणमुखी बनाउने कुनै पनि प्रयासलाई महासंघले समर्थन नगर्ने स्पष्ट पारेका हुन् ।
‘सामाजिक सञ्जाल नियमन विधेयक हुबहु पारित गर्नु हुदैन ,’ उनले भने, ‘सामाजिक सञ्जाल नियमन मात्र हुनुपर्छ, नियन्त्रण स्वीकार्य छैन। लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रतामा लगाम लगाउनु हुँदैन।’
महासचिव गुरागाईले सञ्चार स्वतन्त्रता लोकतन्त्रको महत्वपूर्ण आधार भएको बताउँदै, नागरिकका विचार र अभिव्यक्तिलाई नियन्त्रण गर्ने कुनै पनि विधेयकप्रति महासंघले प्रतिरोध गर्ने चेतावनीसमेत दिए ।
उनले डिजिटल मिडिया र सामाजिक सञ्जाललाई पारदर्शी र जिम्मेवार बनाउन आवश्यक भए पनि नियमनका नाममा अनावश्यक नियन्त्रण र प्रतिबन्ध अस्वीकार्य रहेको स्पष्ट पारे ।
उनले प्रेस स्वतन्त्रताको रक्षाका लागि सबै पत्रकार तथा संचारकर्मी एकजुट हुनुपर्नेमा जोड दिए।
प्रेस चौतारीका उपत्यका अध्यक्ष बिष्णु आचार्यको अध्यक्षतामा सम्पन्न अधिवेशन उद्घाटन कार्यक्रममा नेकपा (एमाले) को स्थायी समिति सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल,प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत लगायतका पदाधिकारी, एमाले वाग्मतीका उपसचिव भक्तकुमारी लामा एवं प्रेस युनियन र प्रेस सेन्टरलगायतका उपत्यका समितिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
अधिवेशनको बन्द सत्रले सीता पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको प्रेस चौतारी उपत्यका इन्चार्ज हेमराज सिलवालले जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस्