८औँ ओपिएस अन्तरविद्यालय चित्रकला प्रतियोगिता भव्य रूपमा सम्पन्न
अर्गनाइजेसन अफ प्राइभेट स्कुल्स (ओपिएस) नेपालको आयोजना तथा फेरिल्याण्ड इन्टरनेसनल स्कुलको संयोजनमा ‘८औँ ओपिएस अन्तरविद्यालय चित्रकला प्रतियोगिता’ भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ। मिति २०८२ साल पुस ५ गते शनिबार आयोजित उक्त प्रतियोगितामा काठमाडौँका विभिन्न निजी विद्यालयका प्रतिभावान विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि पाब्सन बागमती प्रदेशका अध्यक्ष श्री मुरारी प्रकाश सन्जेलले चित्रकला जस्ता सिर्जनात्मक गतिविधिले विद्यार्थीहरूको कल्पनाशक्ति, आत्मविश्वास र अभिव्यक्ति क्षमतामा निखार ल्याउने बताउनुभयो। उहाँले यस्ता कार्यक्रमहरूले केवल प्रतिस्पर्धा मात्र नभई गुणस्तरीय शिक्षालाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।
कार्यक्रममा विशेष अतिथिको रूपमा बोल्दै पाब्सन केन्द्रीय सचिवालय सदस्य एवं ओपिएसका अध्यक्ष तथा हिम रश्मि स्कुलका संस्थापक प्रिन्सिपल श्री लोकनरेन्द्र बहादुर खड्काले शैक्षिक उपलब्धिसँगै विद्यार्थीमा सिर्जनात्मक सीपको विकास हुनु अपरिहार्य रहेको बताउनुभयो। उहाँका अनुसार यस्ता अन्तरविद्यालय प्रतियोगिताले बालबालिकामा अनुशासन, धैर्यता र सकारात्मक प्रतिस्पर्धी भावनाको विकास गराउँछ। ओपिएसका सचिव तथा पाब्सन काठमाडौँ महानगरपालिकाका उपाध्यक्ष श्री रविन बस्नेतले ओपिएस नेपालले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि सिर्जनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको बताउँदै सहभागी विद्यालय, शिक्षक र अभिभावकहरूप्रति आभार प्रकट गर्नुभयो।
यसैगरी फेरिल्याण्ड इन्टरनेसनल स्कुलका संस्थापक, पाब्सन बागमती प्रदेशका सचिवालय सदस्य एवं ओपिएसका उपाध्यक्ष श्री विष्णु चन्द्र अधिकारीले चित्रकलाले बालबालिकाको भावनात्मक र मानसिक विकासमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो। फेरिल्याण्डका निर्देशक श्री विनोद अधिकारीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमलाई सफल बनाउन अर्का निर्देशक श्री राजेन्द्र देवकोटाले विशेष भूमिका निर्वाह गर्नुभएको थियो। प्रतियोगिताको निष्पक्ष मूल्याङ्कनका लागि प्रसिद्ध कलाकार बाबुरत्न प्रजापतिको नेतृत्वमा रहेको निर्णायक टोली खटिएको थियो।
प्रतियोगितामा जुनियर र सिनियर गरी दुवै विधामा २४-२४ जना विद्यार्थीहरूको प्रतिस्पर्धा रहेको थियो। जुनियरतर्फ कौशल इङ्लिस बोर्डिङ स्कुलका विजन तामाङ प्रथम हुनुभयो भने हिम रश्मि हाई स्कुलका ईशान थापा द्वितीय र सृजना ज्ञान सागर स्कुलकी उज्ज्वला लोहनी तृतीय हुन सफल हुनुभयो। सान्त्वना पुरस्कार सान्त्वना ज्ञान मन्दिरकी मुस्कान बी.सी. र सृजना ज्ञान सागरका रिजन खड्काले प्राप्त गर्नुभयो। विद्यार्थीहरूले प्रस्तुत गरेका गीत तथा नृत्यले कार्यक्रमको माहोललाई थप उत्साहपूर्ण र साङ्गीतिक बनाएको थियो।
सिनियरतर्फको प्रतिस्पर्धामा कौशल इङ्लिस बोर्डिङ स्कुलकी नम्रता राईले प्रथम स्थान हासिल गर्नुभयो। त्यस्तै सृजना ज्ञान सागर सेकेन्डरी स्कुलकी श्रेयजल दाहाल द्वितीय र सान्त्वना सेकेन्डरी स्कुलकी हिरा प्रजापति तृतीय हुनुभयो। सिनियर विधातर्फ सान्त्वना पुरस्कार कौशल इङ्लिसका सुजल कडरिया र मनास्लु स्कुलका युनिस मगरले प्राप्त गर्नुभयो। कार्यक्रमको समापनमा आयोजक ओपिएस नेपाल र संयोजक फेरिल्याण्ड इन्टरनेसनल स्कुलले सहभागी सम्पूर्ण विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि, निर्णायक, शिक्षक, अभिभावक र सहयोगीहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।
















प्रतिक्रिया दिनुहोस्