काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ अन्तर्गत पर्ने हाँडीगाउँ ऐतिहासिक तथा पुरातात्त्विक महत्व बोकेको क्षेत्र भएको भन्दै नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार ईश्वर पोखरेलले यसको संरक्षण, अभिलेखन र राष्ट्रिय सम्पत्तिका रूपमा विकास गर्न सबै मिलेर लाग्नुपर्ने बताएका छन्।
नेकपा एमाले कामपा–५ वडा निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रममा बोल्दै पोखरेलले हाँडीगाउँ प्राचीन मानव सभ्यता र संस्कृतिको नगर भएको उल्लेख गरे। यहाँ रहेका दृश्य तथा अदृश्य सम्पदाहरूको थप अन्वेषण, संरक्षण र प्रसार आवश्यक रहेको उनले बताए।
“हाँडीगाउँ ऐतिहासिक, पुरातात्त्विक महत्वका सम्पदाहरू भएको क्षेत्र हो। प्राचीन मानव सभ्यता र संस्कृतिको नगर हो,” पोखरेलले भने, “यहाँका दृश्य र अदृश्य सम्पदाहरूको अन्वेषण, अभिलेखन, संरक्षण र राष्ट्रिय सम्पत्ति बनाउने कार्यमा स्थानीय व्यक्तित्वहरूसँगै हामी सबै लाग्नुपर्छ।”
विगतमा पनि विभिन्न सम्पदा संरक्षणमा धेरै काम भएको उल्लेख गर्दै यस विषयमा निरन्तर रूपमा लागिरहेकाले आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।
















प्रतिक्रिया दिनुहोस्