काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. ७ का नेकपा एमालेका उम्मेदवार प्रकाश श्रेष्ठले आफ्नो अघिल्लो कार्यकालमा गरेका विकास निर्माणका काम र जनमुखी योजनाहरू नै आगामी फागुन २१ को निर्वाचन जित्ने मुख्य आधार भएको दाबी गरेका छन्।
प्रेस चौतारी नेपाल उपत्यका प्रदेश कमिटीद्वारा आयोजित ‘उम्मेदवारसँग प्रेस चौतारी’ कार्यक्रममा बोल्दै श्रेष्ठले आफू बागमती प्रदेश सभा सदस्य र मन्त्री रहँदा यस क्षेत्रमा ठोस परिवर्तन ल्याएको उल्लेख गरे। विशेष गरी काठमाडौं–७ मा लामो समयदेखि कायम रहेको खानेपानीको अभाव, अव्यवस्थित सडक र सामुदायिक विद्यालयको कमजोर अवस्थालाई सुधार्न आफूले महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ।
मन्त्री हुँदा शिक्षा, स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरी कार्यान्वयनमा ल्याएकाले नै जनताले आफूलाई फेरि पनि जनप्रतिनिधिको रूपमा हेर्न चाहेको उनले विश्वास व्यक्त गरे। श्रेष्ठका अनुसार पहिले यस क्षेत्रमा स्वास्थ्य क्षेत्रका भवनहरू जीर्ण थिए र कृषि व्यवसायमा किसानहरूले उचित प्रोत्साहन पाएका थिएनन्। उनले आफ्नो कार्यकालमा यी समस्यालाई सम्बोधन गर्दै विद्यालयको शैक्षिक गुणस्तर सुधार र भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय कदम चालेको दाबी गरे।
“काम गर्नेलाई नै जनताले मूल्याङ्कन गर्छन्” भन्दै उम्मेदवार श्रेष्ठले मतदाताहरू सचेत रहेकाले धेरै प्रचारप्रसार गर्नुभन्दा पनि आफूले गरेका कामहरू नै चुनावी विजयका लागि पर्याप्त हुने तर्क गरे। अझै केही अधुरा योजनाहरू बाँकी रहेको स्वीकार्दै उनले ती कामहरू पूरा गर्न र राष्ट्रिय कानुन निर्माणमा सशक्त भूमिका खेल्न प्रतिनिधिसभाको यात्रा तय गर्न लागेको बताए।
वर्तमान राजनीतिक परिस्थितिको चर्चा गर्दै श्रेष्ठले फागुन २१ को निर्वाचन नियमित प्रक्रिया मात्र नभई विशेष राजनीतिक परिस्थितिको उपज भएको टिप्पणी गरे। नेकपा एमालेले देशलाई आर्थिक समृद्धि र विकासको मार्गमा अगाडि बढाइरहेको बेला राजनीतिक अस्थिरता सिर्जना गरिएको र एमालेमाथि चौतर्फी प्रहार भइरहेको उनले बताए। उनले पछिल्लो समय देशमा बाह्य हस्तक्षेप बढ्दै गएको र मुलुकको सार्वभौमसत्तासमेत जोखिममा रहेको भन्दै चिन्ता व्यक्त गरे। यस्तो परिस्थितिमा देशलाई जोगाउने र स्थिरता दिने जिम्मेवारी अब जनताको हातमा रहेको उनको बुझाइ छ।
आफू र आफ्नो पार्टीमाथि जतिसुकै आरोप र आलोचना भए पनि जनताको एमालेप्रतिको भरोसा नघटेको श्रेष्ठले दाबी गरे। अन्य राजनीतिक दलहरूको तुलनामा एमालेले राष्ट्रियता र विकासका लागि खेलेको भूमिका उत्कृष्ट रहेको चर्चा गर्दै उनले आफ्नो नीति र विचारकै कारण जनताले सूर्य चिह्नमा मतदान गर्ने विश्वास दिलाए। अन्त्यमा, उनले आफू निर्वाचित भइसकेपछि जनताको अपेक्षा अनुसार विकास निर्माणका कामलाई निरन्तरता दिने र क्षेत्र नं. ७ का बासिन्दाको जीवनस्तर उकास्न निरन्तर लागिरहने प्रतिबद्धतासमेत व्यक्त गरे।












प्रतिक्रिया दिनुहोस्