Logo

बागमती पेज

७ फाल्गुन २०८२, बिहिबार

सर्लाही–१ मा ‘स्थानीय छोरी’ नितिमाको जनलहर: कांग्रेस-एमालेका मतदाता घण्टीतिर


Nitima Ghardailo 07 Bagmatipage

सर्लाही । आगामी प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा सर्लाही निर्वाचन क्षेत्र नं. १ मा राजनीतिक सरगर्मीले नयाँ उचाइ लिएको छ।

परम्परागत राजनीतिक शक्तिहरू नेपाली कांग्रेस, नेकपा एमाले र अन्य दलहरूको दबदबा रहेको यस क्षेत्रमा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार नितिमा कार्कीको सशक्त उपस्थिति फेरिएको छ। आफ्नै माटोकी ‘स्थानीय छोरी’ चुनावी मैदानमा उत्रिएपछि क्षेत्रका मतदाताहरूमा छुट्टै उत्साह र आशा पलाएको देखिन्छ।

विशेषगरी कार्कीले सञ्चालन गरिरहेको घरदैलो अभियान यति प्रभावकारी देखिएको छ कि, यसले वर्षौँदेखि निश्चित दलमा आस्था राख्दै आएका पुराना कार्यकर्ताहरूलाई समेत सोच्न बाध्य बनाएको छ।

अहिले सर्लाही–१ का गाउँबस्ती र टोलहरूमा ‘घण्टी’को चर्चा चुलिएको छ। चुनावी मैदानमा होमिएकी नितिमा कार्कीको आँट र हिम्मतलाई स्थानीयले मुक्तकण्ठले प्रशंसा गरिरहेका छन्।

राजनीतिलाई सत्ता प्राप्तिको माध्यम मात्र ठान्ने पुराना नेताहरूको भीडमा एक शिक्षित, स्पष्ट वक्ता र सेवाभाव बोकेकी छोरीलाई उम्मेदवारका रूपमा पाउँदा यहाँका बासिन्दाले गर्व महसुस गरेका छन्।

यही कारणले गर्दा पनि यसपटक कांग्रेस, एमाले र अन्य दलका समर्थकहरू समेत आफ्नो दलीय घेराभन्दा माथि उठेर नितिमाको पक्षमा उभिन थालेका छन्। “आफ्नै क्षेत्रको छोरीले आँट गरेपछि किन साथ नदिने?” भन्ने भावनाले गर्दा उनको चुनावी माहोल अन्य उम्मेदवारको तुलनामा निकै सुन्दर र बलियो बन्दै गएको छ।

नितिमा कार्कीले अघि सारेका एजेन्डाहरू निकै व्यावहारिक र जनमुखी छन्। उनले मुख्य गरी “सीप सिकेर आत्मनिर्भर बन्ने र स्वदेशमै सम्मानजनक रोजगारी सिर्जना गर्ने” कुरालाई प्राथमिकता दिएकी छन्। यो एजेन्डाले विशेषगरी विदेश पलायन हुन लागेका युवा र घरमै बसेर केही गर्न चाहने महिलाहरूलाई सिधै छोएको छ।

उनले परम्परागत कृषि प्रणालीलाई आधुनिक प्रविधिसँग जोडेर किसानको आयस्तर सुधार्ने र गुणस्तरीय स्वास्थ्य सेवालाई गाउँसम्म पुर्‍याउने ठोस योजना अघि सारेकी छन्। केवल आश्वासन मात्र बाँड्ने पुरानो परिपाटीलाई चिर्दै उनले जनताको घरदैलोमा पुगेर उनीहरूका समस्या सुन्ने र समाधानका उपायबारे छलफल गर्ने शैली अपनाएकी छन्, जसले गर्दा सर्वसाधारणमा उनीप्रति ठूलो विश्वास पैदा भएको छ।

यस निर्वाचन क्षेत्रमा महिला मतदाताहरूको संख्या उल्लेख्य छ र यसपटक उनीहरू एकजुट भएर नितिमाको साथमा उभिएका छन्। महिला सशक्तिकरण र नेतृत्वमा महिलाको पहुँच हुनुपर्छ भन्ने मान्यता राख्ने सबै तहका महिलाहरूले उनलाई आफ्नो भरोसाको केन्द्र मानेका छन्। आउँदो निर्वाचनमा विकास, सुशासन र उज्यालो भविष्यका लागि घण्टी चिन्हमा मतदान गर्न उनले गरिरहेको अपिलले गाउँ-गाउँमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

स्थानीयको अपार समर्थन, युवाहरूको जोस र महिलाहरूको साथले गर्दा सर्लाही–१ मा यसपटक नितिमा कार्कीको विजय यात्रा सहज बन्दै गएको विश्लेषण गर्न थालिएको छ। जनताको विश्वास नै आफ्नो शक्ति भएको बताउने कार्कीको यो उत्साहजनक माहोलले सर्लाहीको राजनीतिमा नयाँ युगको सुरुवात हुने संकेत गरेको छ।