Logo

बागमती पेज

१५ फाल्गुन २०८२, शुक्रबार

प्रेस काउन्सिलको एक्सन: उम्मेदवार नितिमा कार्की विरुद्धको भ्रमपूर्ण प्रचार रोक्न निर्देशन


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सर्लाही क्षेत्र नं. १ की उम्मेदवार नितिमा भण्डारी कार्कीविरुद्ध सामाजिक सञ्जालमा फैलाइएको भ्रमपूर्ण सूचनाप्रति प्रेस काउन्सिल नेपालले कडा कदम चालेको छ ।

‘अनलाइनटीभीनेपाल डटकम’ ले कार्कीलाई ३३ किलो सुन काण्डसँग जोडेर सम्प्रेषण गरेको सामग्री तथ्यहीन र चरित्रहत्या गर्ने खालको भएको ठहर गर्दै काउन्सिलले उक्त सञ्चार माध्यमलाई सचेत गराएको हो ।

काउन्सिलले निर्वाचनको मुखमा उम्मेदवारको प्रतिष्ठामा आँच पुऱ्याउने यस्ता सामग्रीले पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता २०८२ को उल्लंघन गरेको जनाएको छ ।  

भ्रमपूर्ण प्रचारका सम्बन्धमा उम्मेदवार कार्कीले आफ्नो मान-मर्यादा र व्यक्तिगत चरित्रमा प्रहार गरिएको भन्दै काउन्सिलमा उजुरी दिएकी थिइन् ।

सोही उजुरीका आधारमा काउन्सिलले सम्बन्धित अनलाइनलाई २४ घण्टाभित्र खण्डन सम्प्रेषण गर्न र आगामी दिनमा यस्ता भ्रामक सामग्री प्रकाशन नगर्न निर्देशन दिएको छ ।

निर्वाचनको समयमा कुनै पनि उम्मेदवारलाई नकारात्मक असर पर्ने गरी असम्बन्धित घटनामा जोडेर सामग्री सम्प्रेषण गर्नु पत्रकारिताको मर्यादा विपरीत हुने काउन्सिलको ठहर छ ।  

आफ्नो चुनावी घोषणापत्रमार्फत कृषि क्रान्ति र युवा रोजगारीको एजेन्डा लिएर मैदानमा उत्रिएकी कार्कीले आफूविरुद्ध नियोजित षड्यन्त्र भइरहेको बताएकी छिन् ।

उनले कृषिको आधुनिकीकरण, किसानको पसिनाको मूल्य र स्थानीय स्तरमै युवालाई रोजगारी दिने ‘सर्लाही पुनर्जागरण’ को संकल्प लिएकी छिन् ।

विपक्षीहरूले आफ्नो बढ्दो लोकप्रियताबाट अत्तालिएर भ्रम फैलाएको भन्दै उनले मतदाताहरूलाई यस्ता प्रायोजित हल्लाको पछि नलाग्न र सत्यको पक्षमा उभिन अपिल गरेकी छिन् ।