सिन्धुपाल्चोक। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट उम्मेदवार बनेका माधव सापकोटा ‘सुबोध’ ले आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् ।
“सुशासन र रोजगारी, समाजवादको तयारी” भन्ने मूल नाराका साथ उनले विकास, पर्यटन र युवा केन्द्रित योजनाहरू अघि सारेका हुन् । सापकोटाले आगामी दुई वर्षभित्र काठमाडौंबाट एकै दिनमा जुगल हिमालको फेदीमा पुगेर हिउँ छुन सक्ने गरी सडक पूर्वाधार विकास गर्ने संकल्प गरेका छन् ।
साथै, सुकुटे, तातोपानी र भैरवकुण्डलाई व्यावसायिक पर्यटन हब बनाउने र पाँचपोखरीदेखि तातोपानीसम्म ‘हाइ-अल्टिच्युड ट्रेकिङ’ रुट विकास गर्ने उनको योजना छ ।
युवा पुस्ता (जेनजी) लाई लक्षित गर्दै उनले आगामी पाँच वर्षमा पर्यटन, कृषि र सूचना प्रविधि क्षेत्रमा ५ हजार मर्यादित रोजगारी सिर्जना गर्ने लक्ष्य राखेका छन् । उनले ‘डिजिटल सिन्धुपाल्चोक’को अवधारणा अघि सार्दै गाउँ-बस्तीमा उच्च गतिको इन्टरनेट र स्टार्टअप कोष स्थापना गर्ने प्रतिवद्धता जनाएका छन् ।
शिक्षा क्षेत्रमा सुधार ल्याउन उनले सामुदायिक विद्यालयहरूलाई नमुना आवासीय विद्यालय बनाउने र प्लसटु सकेलगत्तै युवाहरू रोजगारीमा जोडिने व्यवस्थाका लागि नीतिगत पहल गर्ने बताएका छन् । साथै, विद्यालय शिक्षा विधेयकलाई यथाशीघ्र पारित गराउने र शिक्षकहरूको सेवा-सुविधा अन्य सरकारी सेवा सरह बनाउने उनको अठोट छ ।
किसानका लागि ‘सिँचाइ, बीउ, मल, मूल्य र बजार’लाई मूल मन्त्र मान्दै उनले उत्पादन हुनुअघि नै न्यूनतम समर्थन मूल्य तोक्ने व्यवस्था मिलाउने बताएका छन् । वडा तहमा दक्ष कृषि तथा पशु प्राविधिकको व्यवस्था गर्ने र कृषि बिमालाई प्रभावकारी बनाउने उनको योजना छ ।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउँदै उनले भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने विषयलाई प्राथमिकतामा राखेका छन् । साथै, विदेशमा रहेका नेपालीहरूका लागि बसेकै देशबाट मताधिकार प्रयोग गर्न पाउने कानुनी व्यवस्थाका लागि पैरवी गर्ने उनले प्रतिवद्धता जनाएका छन् ।
आफ्नो अघिल्लो ३३ महिनाको कार्यकालमा ७ अर्बभन्दा बढी बजेट भित्र्याएको दाबी गर्दै सापकोटाले अरनिको राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने र तातोपानी नाकालाई थप व्यवस्थित बनाउने कार्यलाई निरन्तरता दिने बताएका छन् ।
सापकोटाले फागुन २१ गते हुने निर्वाचनमा ‘तारा’ चिह्नमा मतदान गरी आफूलाई विजयी गराउन मतदाताहरूसमक्ष अपील गरेका छन् ।












प्रतिक्रिया दिनुहोस्