Logo

मेघनाथ पहाडी

२३ फाल्गुन २०८२, शनिबार

सिन्धुली- १ मा धनेन्द्र कार्कीको रोमाञ्चक अग्रता


Dhanendra Karki Bagmatipage

सिन्धुली । सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ को मतगणनाले यतिबेला जिल्ला मात्र नभई केन्द्रकै राजनीतिमा नयाँ तरंग पैदा गरिदिएको छ। पछिल्लो प्राप्त परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका धनेन्द्र कार्कीले १६,२६० मतसहित मैदानमा आफ्नो वर्चस्व कायम गर्दै एमाले र कांग्रेस जस्ता पुराना शक्तिलाई कडा झड्का दिएका छन्।

उनले नेकपा एमालेका प्रदिप कटुवाललाई ५९२ मतले पछि पार्दै अग्रतालाई सुरक्षित बनाउँदै लगेका छन्। कटुवाल १५,६६८ मतका साथ कार्कीलाई पछ्याइरहेका छन् भने नेपाली कांग्रेसका उज्ज्वल बराल १४,९८९ मतसहित तेस्रो स्थानमा रहँदै कडा प्रतिस्पर्धा दिइरहेका छन्। अर्कातर्फ डेकेन्द्र प्रसाद सुवेदी ४,६५४ मतमा खुम्चिएका छन्।

तीनपाटन, गोलन्जोर, फिक्कल र दुधौली जस्ता रणनीतिक क्षेत्रका साथै कमलामाई नगरपालिकाका वडा नं. ९ र १३ को मतगणना जारी रहँदा ‘घण्टी’को बढ्दो रफ्तारले स्थापित राजनीतिक दलहरूका गढ मानिने क्षेत्रहरूमा समेत ठूलो उथलपुथल ल्याएको संकेत देखिएको छ।

परम्परागत राजनीतिक शक्ति र नयाँ उदय भएको शक्तिबीचको यो त्रिकोणात्मक भिडन्तले चुनावी नतिजालाई निकै रोचक र अनपेक्षित मोडमा पुर्‍याएको छ।

मतगणना स्थलमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ भने समर्थकहरूको बाक्लो उपस्थितिले सिन्धुलीको माहोल तातिएको छ। बाँकी वडाहरूको नतिजा आउन बाँकी रहँदा कसले बाजी मार्छ भन्ने कौतुहलताले जनमानसमा उत्कर्ष छोएको छ।