काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को काठमाडौं क्षेत्र नं. ५ स्थित निर्वाचन सम्पर्क कार्यालयमा तोडफोड भएको छ ।
गएराति एउटा समूहले कार्यालयमा तोडफोड गरेर झण्डा च्यात्ने र प्रचार सामग्री फ्याक्ने काम गरेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताए ।
उनका अनुसार उनीहरुले कार्यालयमा नेकपा एमालेको झण्डा गाडेका छन् । ‘तर, त्यहाँ देखिएका मान्छेहरु एमाले समर्थक हुन् जस्तो देखिएको छैन’, श्रेष्ठले भने, ‘पहिले राप्रपामै रहेर पार्टी छाडेका मान्छेहरु देखिएका छन् ।’
यसबारे अनुसन्धान गरिदिन भन्दै राप्रपाले प्रहरीमा उजुरी पनि दिएको छ । प्रवक्ता श्रेष्ठले निर्वाचनलाई स्वच्छ, विश्वसनीय र भयरहित बनाइदिन सरकारसँग पनि माग गरेका छन् ।
काठमाडौं ५ मा राप्रपाबाट रामप्रसाद उप्रेती उम्मेदवार छन् । यो क्षेत्रमा नेकपा एमालेबाट ईश्वर पोखरेल र नेपाली कांग्रेसबाट प्रदीप पौडेल उम्मेदवार छन् ।
प्रतिक्रिया दिनुहोस्