काठमाडौँ। नेपालकै पहिलो साहित्यसम्बन्धी रियालिटी शो ‘द पोएट आइडल’को उपाधि सिक्किमकी नीलम गुरुङले जितेकी छन् ।
फिनालेमा पुगेका पल्लविव, नाथन रायान र मिल्सन राईलाई भोटमा पछि पार्दै नीलमले ‘पोएट आइडल’को उपाधि जितेकी हुन् । उपाधि जितेसँगै उनले १० लाखको चेक हात पारेकी छन् ।
‘कसरी लेखौँ म आफ्नै कविता जब म आफ्नै देशमा विदेशी छु’ कविताले निलम गुरुङको क्रेज ह्वात्तै बढाएको थियो । उनलाई सिक्किम सरकारको प्रत्यक्ष समर्थन र सहयोग रहेको थियो ।
उनलाई जिताउन सिक्किम सरकारका पिएस तामाङलगायत लागिपरेका थिए भने विभिन्न कार्यक्रममा पुगेर मुख्यमन्त्रीले उनका लागि भोट अपिल गर्ने गरेका थिए । नेपाली साहित्य परिषद् भवनमा मुख्यमन्त्रीका सचिवले त आर्थिक सङ्कलन नै गरेर निलमलाई जिताउनु पर्ने बताएका थिए ।
‘डन डिरेक्टर’का रूपमा परिचित अमनप्रताप अधिकारीले निर्देशन गरेको द पोएट आइडलमा विप्लव प्रतीक, अनुप बराल, उपेन्द्र सुब्बा र सुरक्षा पन्तले जर्जको भूमिकामा थिए भने दिव्यदेव कार्यक्रम सञ्चालकको भूमिकामा रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्