काठमाडौँ । सुक्खायाम सुरु भएसँगै बागलुङको करिब चार सय ५० हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । पाँच राष्ट्रिय र १७ सामुदायिक वनमा आगलागी भएको हो ।
गत माघ १८ गते पहिलो पटक जिल्लाको तमानखोला गाउँपालिकाको खुंखानीमा पर्ने हापली छहरा मठुरे राष्ट्रिय वनमा आगलागी भएको थियो । चार दिनसम्म फैलिएको आगलागीले दुई सय हेक्टर वन क्षेत्र मासेको डिभिजन वन कार्यालय बागलुङको तथ्याङ्क छ ।
गतमाघदेखि सुरु भएको आगलागीको शृङ्खला रोकिएको छैन । बस्ती नजिकैका सामुदायिक तथा निजी आवादी वन क्षेत्र र सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी भइरहेको डिभिजन वन अधिकृत मुकुन्दप्रसाद अधिकारीले बताए । जानीजानी वा दुर्घटनावश बिहीबारसम्म बागलुङका २२ वनमा डढेलो लागेको तथ्याङ्क छ । केही तथ्याङ्क भने आउनै बाँकी छ ।
यस वर्ष सबैभन्दा धेरै आगलागी बागलुङ नगरपालिकाका वनमा भएको छ । बागलुङ नगरपालिकाका छ सामुदायिक वन र एक ठाउँमा राष्ट्रिय वन क्षेत्रमा आगलागी भएको हो । जैमिनी नगरपालिकाका पाँच, बडिगाडका तीन, काठेखोलाका दुई र तमानखोला, निसीखोला र बरेङ गाउँपालिका तथा ढोरपाटन नगरपालिकाको एक/एक वनमा आगलागी भएको छ ।
जिल्लामा एक लाख पाँच हजार पाँच सय एक हेक्टर जमिनमा वन फैलिएको छ । जिल्लाभर पाँच सय २७ सामुदायिक वन ३३ हजार नौ सय नौ हेक्टरमा फैलिएका छन् भने, आठ दर्ता भएका निजी र बाँकी राष्ट्रिय वन क्षेत्र रहेको सहायक वन अधिकृत मदन कँडेलले बताए । रासस
प्रतिक्रिया दिनुहोस्