Logo

बागमती पेज

असार १७, २०८० आईतबार

कर्मचारी र वकिलको विवादले देशभरका अदालतको काम प्रभावित


Suprme-Court sarbochha adalat

काठमाडौँ । उच्च अदालत पाटनमा कर्मचारी र कानुन व्यवसायीबीच भएको विवादले देशभरका अदालतमा काम प्रभावित भएको छ । कर्मचारीमाथि कानुन व्यवसायीले हातपात गरेको भन्दै देशभरका अदालतका कर्मचारीले आइतबार दिउँसो साढे १ बजेसम्म काममा नजाने घोषणा गरेर आन्दोलनमा उत्रिएका छन् ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले सर्वोच्चसहित देशभरका उच्च र जिल्ला अदालतमा काम प्रभावित भएको जानकारी दिए । उनले अदालतमा रहेका कर्मचारीका आधिकारीक ट्रेड युनियनहरूले काम रोक्नका लागि विज्ञप्ति जारी गरेको र अदालतहरूमा सुनुवाइ हुन नसकेको बताए ।

अदालतमा रहेका कर्मचारीहरूका सबै आधिकारीक ट्रेड युनियनले विज्ञप्ति जारी गरेर काम रोक्नुभएको छ । साढे १ बजेसम्म काम नगर्ने भन्ने जानकारी आएकाले इजलास बस्न सकेका छैनन् र मुद्दाको सुनुवाइ सुरु भएको छैन,उनले भने ।

असार १३ गते पाटन जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङलाई कानुन व्यवसायी अमिर लामिछानेले हातपात गरेको भन्दै न्यायालयका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

अधिवक्ता लामिछानेले उच्च अदालत पाटनको फाँटमा काम गर्ने तामाङसँग सक्कली मिसिल माग्दा विवाद भएको र हातपात भएको दाबी गरिएको छ ।

अधिवक्ता लामिछाने प्रहरी हिरासतमा रहेका छन् । नासु तामाङले अधिवक्ता लामिछानेलाई कारबाहीका लागि अदालतमा निवेदन पनि दिएकी छन् । अदालतका कर्मचारीहरू हातपात गरेको भए कानुनी कारबाहीको विकल्पमा जानुको सट्टा देशभरका अदालतका काम प्रभावित हुने गरी आन्दोलनमा उत्रिएका हुन् ।

कानुन व्यवसायीका संगठनहरूले पनि विज्ञप्ति जारी गरेर घटनाको सत्यतथ्य छानबिनको माग गरेका छन् । उच्च अदालत बार एसोसिएसन र ललितपुर बार एसोसिएसनले अधिवक्ता लामिछानेलाई प्रहरी हिरासतबाट रिहाइ माग गर्दै घटनाको सत्यतथ्य छानबिनको माग गरेका छन् ।