Logo

बागमती पेज

मंसिर २, २०८० शनिबार

विपीनको उद्धार गर्न पहल भइरहेको छ: मन्त्री साउद


परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले विद्रोही हमास समूहको नियन्त्रणमा रहेको कञ्चनपुरको भीमदत्त नगरपालिकाका विपीन जोशीलाई छुटाउन सरकार गम्भीरतापूर्वक लागेको बताएका छन् ।

शनिबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको नवनिर्मित कार्यालय भवन उद्घाटन समारोहमा मन्त्री साउदले इजरायल सरकारका अनुसार जोशी बन्धक अवस्थामा जीवित रहेको र उनलाई मुक्त गराउन अमेरिकाका परराष्ट्रमन्त्रीदेखि कतारका विदेशमन्त्रीसित आग्रह गरेको जानकारी दिएका हुन् । जोशीको गम्भीर चिन्ता गरिहरेका बेला गाजाको क्षेत्रमा बन्धक रहेको भन्ने आएको छ, मन्त्री साउदले भने, सुरक्षामा गम्भीर रुपमा ध्यान दिँदै सकुशल छुटाउन अमेरिकी परराष्ट्रमन्त्रीसित पनि आग्रह गरिएको छ ।

कूटनीतिक रुपमा पहल अघि बढाउँदै अन्तर्राष्ट्रिय रेडक्रससित पनि आग्रह गरिएको पनि मन्त्री साउदले बताए । बन्धक रहेका जोशीलाई छुटाउन आज बिहान मात्रै कतारका राजदूतसित छलफल भएको छ, उनले भने, हमासको आक्रमणबाट सुदूरपश्चिमले बढी क्षति ब्यहोरेको अवस्था छ । कूटनीतिक पहल गरेर छुटाउने प्रक्रियामा रहेको बताउँदै उनले विश्वस्त रहन सबैलाई आग्रहसमेत गरेका थिए ।

मन्त्री साउदले शनिबार बिहान जोशीका बुबा आमा र दाजुसित भेटसमेत गरेका थिए । फरक प्रसंगमा मन्त्री साउदले विकासमा राजनीतिक गर्न नहुने बताए । सबैको उद्देश्य जनताको विकासकै लागि राजनीति हो, उनले भने, विकासमा राजनीतिक दल, वल्लोपल्लो नभनी सबैले हातेमालो गरेर अघि बढ्नुपर्छ ।

त्यसैगरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा लामो समयदेखि मुआब्जाको पर्खाइमा रहेका पीडितको समस्या समाधान हुनेगरी सरकारले अन्तिम अधिकारसम्पन्न अर्धन्यायिक आयोग गठन गर्ने तयारीमा रहेको जानकारी उनले दिए । अबको एक हप्ताभित्र एकजना पूर्वन्यायाधीशको नेतृत्वमा आयोग गठन हुँदैछ, उनले भने, वास्तविक पीडितलाई सकभर जग्गा नै नभए मुआब्जा रकम उपलब्ध गराउने गरी अन्तिम आयोग बन्दैछ ।