काठमाडौँ । म्याग्दीस्थित कालीगण्डकी र म्याग्दी खोलामा दुईजनाको शव फेला परेको छ। एक शव महिला र अर्को पुरुषको रहेको छ।
३ पुसको बिहानदेखि सम्पर्कविहीन रहेकी धवलागिरि गाउँपालिका–७ हिलापोखरीकी ७६ वर्षीया मनकुमारी पुनको शव म्याग्दी खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बिहीबार दिउँसो खोर्बाङस्थित म्याग्दी नदीमा पुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अशोककुमार झाले जानकारी दिए।
सम्पर्कविहीन भएपछि घरपरिवार, स्थानीयवासी र प्रहरीले खोजी गर्ने क्रममा नदीमा पुनले लगाएको कपडा फेला परेपछि थप खोजी गर्दा नदीमा शव फेला परेको थियो।
यसैगरी, बुधबार नै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ घर भई वडा नम्बर २ भुरुङ तातोपानीमा बसोवास गर्ने ३१ वर्षका सुजन घर्तीसमेत कालीगण्डकी नदीको खोँचमा मृत अवस्थामा फेला परेका छन्। २ पुसमा भुरुङ तातोपानीबाट पोखरेबगरतर्फ मोटरसाइकलमा जाँदै गरेका घर्ती सम्पर्कविहीन भएका थिए।
सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरबाट खटिएको गोताखोरसहितको टोली, नेपाल प्रहरी, घरपरिवार, आफन्तले कालीगण्डकी नदी किनारमा खोजी गर्दा नौनिबगरस्थित कालीगण्डकी नदीको खोँचमा घर्तीको शव फेला पारेको सूचना अधिकारी झाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्