Logo

बागमती पेज

आश्विन ४, २०८१ शुक्रबार

न्युयोर्कमा नेपाल र भारतका प्रधानमन्त्रीबीच भेटवार्ता हुने


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच अमेरिकाको न्युयोर्कमा भेटवार्ता हुने भएको छ। असोज ६ गते आइतबार स्थानीय समयअनुसार साढे ५ बजे उनीहरूबीच भेटवार्ता हुने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।

ओली-मोदी भेटवार्ताका लागि परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालय आन्तरिक तयारीमा जुटेका छन्। प्रधानमन्त्रीको भारतीय समकक्षीसँगको भेटवार्ता सुनिश्चित भएको छ। केही तलमाथि नभए सेप्टेम्बर २२ (असोज ६) मा उहाँहरूबीच भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन प्रधानमन्त्री ओली शुक्रबार कतार हुँदै अमेरिका प्रस्थान गरेका छन्। उनी शनिबार न्युयोर्क पुग्नेछन्। उता, समकक्षी मोदी शनिबार न्युयोर्क प्रस्थान गर्ने भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ। न्युयोर्क पुगेलगत्तै ओली-मोदीबीच भेटवार्ता हुनेछ।

भारतीय विदेश मन्त्रालयका अनुसार मोदी २३ सेप्टेम्बरसम्म अमेरिकामा रहनेछन्। २३ तारिखमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर मोदी फर्किने भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ। सोही कारण पनि ओली-मोदीबीचको भेट २२ तारिखलाई मिलाइएको स्रोतको दाबी छ। भारतीय प्रधानमन्त्रीको भ्रमण छोटो भएकै कारण २२ तारिखमै भेटवार्ता सुनिश्चित गरिएको परराष्ट्र मन्त्रालयको दाबी छ।

गत भदौ २२ गते प्रधानमन्त्री ओलीले फराकिलो मनले संवाद गरेमा नेपाल-भारतबीचका समस्या सहजै समाधान गर्न सकिने बताएका थिए। उनले भारत लामो संस्कृति भएको छिमेकी मित्र भएको र नेपालले खुलारूपमा छिमेकीसँग कुरा गर्नुपर्ने बताएका थिए।

न्युयोर्कमा हुने भेटमा पनि उनीहरूबीच नेपाल र भारतबीचको द्विपक्षीय हितका विषयमा छलफल हुने बताइएको छ। नेपाल-भारतबीचको सम्बन्धलाई मजबुत बनाउन र दुई देशका सरकारबीच आपसी सहकार्यका विषयमा पनि उनीहरूबीच छलफल हुने स्रोतले जनाएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली असोज १२ गतेसम्म न्युयोर्कमा रहनेछन्। त्यहाँ रहँदा उनले उच्चस्तरीय भेटवार्ता गर्नेछन्। असोज १० गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री ओली १४ गते नेपाल फर्किनेछन्।