समाचार
वैशाख १६, २०८२
रासस
काठमाडौँ — चालु आर्थिक वर्षको हालसम्म सार्क राष्ट्रबाट ३५ हजार ७८५ र अन्य देशबाट एक लाख ४५ हजार ६२५ ले हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरिसकेका छन् ।

हनुमानढोका घुम्नका लागि पर्यटकीय मौसममा दैनिक ७०० सम्म पर्यटक आउने गरेका छन् । विशेषगरी भदौ, असोज र कात्तिकमा पर्यटक बढी आउने गरेको हनुमान ढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानले बताए । उनका अनुसार गत आवमा सार्क राष्ट्रबाट ४७ हजार ३९९ र अन्य देशबाट एक लाख ५३ हजार २६२ पर्यटक आएका थिए ।इन्द्रजात्राको समयमा अन्य समयभन्दा धेरै पर्यटक आउने गरेका छन् ।
विशेषगरी हनुमानढोका घुम्न आउने पर्यटकको प्रवेश शुल्क नै कार्यालयको आम्दानी हो । सार्क राष्ट्रका नागरिकका लागि ५०० र अन्य मुलुकबाट आउने पर्यटकका लागि एक हजार शुल्क निर्धारण गरिएको छ । नेपालीलाई प्रवेशका लागि शुल्क नलागे पनि सङ्ग्रहालय अवलोकनमा भने शुल्क लाग्ने गरेको छ ।
पर्यटक बढेसँगै हनुमान ढोका दरबार संरक्षण कार्यक्रमको आम्दानीमा पनि वृद्धि भएको छ । गत आर्थिक वर्षको वैशाख पहिलो सातासम्म १४ करोड ६ लाख ६३ हजार पर्यटन शुल्क संकलन गरेकामा चालु आवको सोही अवधिमा १५ करोड २६ लाख ३५ हजार संकलन भइसकेको कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानले जानकारी दिए ।
कार्यालयले चालु आवका लागि १७ करोड आम्दानी गर्ने लक्ष्य राखेको र सहज रुपमा लक्ष्यमा पुग्न सकिने उनको भनाइ छ । गत आवमा भने उक्त कार्यालयले १५ करोडको मात्र लक्ष्य लिएको थियो ।
प्रतिक्रिया दिनुहोस्