Logo

बागमती पेज

६ मंसिर २०८२, शनिबार

रगत अभावमा पत्रकारको मानवीय पहल


काठमाडौं । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले भृकुटीमण्डपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। ‘जेनजी’ प्रदर्शनपछि अस्पतालमा देखिएको रगत अभावलाई ध्यानमा राख्दै कार्यक्रम आयोजना गरेको हो।

पत्रकारदेखि राजनीतिकर्मीको सक्रिय सहभागिता रहेको कार्यक्रममा ५५ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका महासङ्घ काठमाडौँ उपाध्यक्ष कान्ति न्यौपानेले जानकारी दिएकी छन् ।

महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष शोभा अर्याल र सचिव रमेशकुमार बोहराले रक्तदान गरी सुरुवात गरेका यो अभियानमा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे, पूर्वअध्यक्ष युवराज विद्रोही, राससका वरिष्ठ पत्रकार प्रकाश सिलवाललगायतले रक्तदान गरेका थिए।

अध्यक्ष अर्यालका अनुसार ‘जेनजी’ प्रदर्शनपछि रेडक्रस र अस्पतालमा देखिएको रगत अभावमा सहयोग पुग्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। पत्रकार तथा सामाजिक अभियन्ताको सक्रियताले समाजमा रक्तदानप्रति जागरूकता बढाउने विश्वास उनले व्यक्त गरिन्।

महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्माले सहभागी सबैलाई प्रमाणपत्र प्रदान गर्दै जिल्ला शाखाले गर्दै आएको रचनात्मक तथा मानवीय कार्यको प्रशंसा गरिन्।