Logo

मेघनाथ पहाडी

२९ माघ २०८२, बिहिबार

सर्लाहीका खेतमा सभापति थापा: किसानका पसिनाको मूल्य दिलाउन नीति बदल्छौँ


काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाहीको बरहथवा नगरपालिका अन्तर्गत हजरियाका किसानहरूको समस्या सुन्न उनीहरूकै कार्यथलो (खेतबारी) मा पुगेका छन्। ‘समुदायमा कांग्रेस’ अभियान र स्थानीय संवादका क्रममा थापाले आलु, मकै र उखु खेती गर्ने किसानहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरेका हुन् ।

भेटघाटका क्रममा किसानहरूले उत्पादन लागत बढ्दो रहेको तर बजारमा उचित मूल्य नपाउँदा ऋणको भारी थपिएको भन्दै भावुक गुनासो पोखेका थिए। विशेष गरी बागमती नदीको तटबन्ध नहुँदा बर्सेनि खेतीयोग्य जमिन बगरमा परिणत भइरहेकोतर्फ उनीहरूले नेता थापाको ध्यानाकर्षण गराए।

किसानका समस्यालाई नजिकबाट नियाल्दै महामन्त्री थापाले यी मुद्दाहरूलाई काठमाडौंको नीतिगत तहमा जोडदार रूपमा उठाउने बताए । उनले भने, “हजरियाका किसानले भोग्नुभएको लागत र बजारको समस्या केवल यहाँको मात्र होइन, यो देशकै चित्र हो। बागमतीको तटबन्ध र कृषि बजारको व्यावहारिक समाधानका लागि म केन्द्र सरकार र सदनमा ‘नीतिगत हस्तक्षेप’ गर्ने प्रतिबद्धता जनाउँछु। किसानको पसिनाको मूल्य सुनिश्चित नगरेसम्म समृद्धिको गफ व्यर्थ हुन्छ।”

आलु र मकैको उचित भण्डारण र बजार व्यवस्थापनका लागि ‘कोल्ड स्टोर’ र मूल्य निर्धारणको संयन्त्र। उखु किसानले समयमा भुक्तानी नपाउने समस्याको स्थायी समाधान र सरकारी अनुदानको पारदर्शी वितरण। नदी नियन्त्रणका लागि केन्द्रबाटै बजेटको व्यवस्था गरी दीर्घकालीन तटबन्ध निर्माणको पहल लगायतलाई विशेष जोड दिने उनको भनाइ छ।

सभापति थापाको यो भ्रमणले स्थानीय किसानहरूमा आशा जगाएको छ। जनजीविकासँग जोडिएका यी गम्भीर सवालहरूलाई नीतिगत तहमा पुर्‍याएर व्यवहारमै समाधान खोज्न आफू लाग्ने भन्दै थापाले स्थानीय कार्यकर्ताहरूलाई पनि किसानका साना-तिना समस्यामा सधैं साथमै रहन निर्देशन दिए।