Logo

मेघनाथ पहाडी

९ फाल्गुन २०८२, शनिबार

सिन्धुलीको मुहार फेर्ने बरालको सङ्कल्पः दीर्घकालिन विकासमा ध्यान दिने प्रतिवद्धता


Ujjwal Baral sindhuli-1 bagmatipage

सिन्धुली । गाउँको अभाव, विभेद र पछौटेपनलाई नजिकबाट भोगेको एउटा ठिटो, आज त्यही क्षेत्रको भाग्य र भविष्य बदल्ने सङ्कल्प बोकेर तपाईंको दैलोमा उभिएको छ । यो कुनै फिल्मी संवाद होइन, सिन्धुली क्षेत्र नं १ का नेपाली कांग्रेसका उम्मेदवार उज्वल प्रसाद बरालको राजनीतिक यात्रा र प्रतिबद्धताको सार हो ।

गोलन्जोर–६, छेत्पाको मध्यमबर्गीय परिवारमा जन्मिएका बरालले विद्यार्थी राजनीतिदेखि जनआन्दोलनसम्म आफूलाई तिखारेका छन् । जेनजेड पुस्ताको बदलिँदो चाहना र सुशासनको भोकलाई बुझेका उनले यसपटक केवल आश्वासन होइन, स्पष्ट खाकासहितको सङ्कल्प तथा वाचा पत्र सार्वजनिक गरेका छन् ।

बरालले आफूलाई केवल विकास निर्माणमा मात्र सीमित राखेका छैनन्। उनले संसद्‌मा विधेयक दर्ता, संशोधन र मन्त्रालयहरूको कार्यसमीक्षा मार्फत राष्ट्रिय नीति निर्माणमा हस्तक्षेपकारी भूमिका खेल्ने सङ्कल्प गरेका छन् । जनताको गुनासो सुन्न निर्वाचन क्षेत्रमै सम्पर्क कार्यालय स्थापना गर्ने र केन्द्र प्रदेश स्थानीय तहबीच पुलको काम गर्ने उनको योजना छ ।

सिन्धुलीको लाइफलाइन मानिने वि.पी. राजमार्गको पुनर्निर्माणलाई तीव्रता दिने र बहुप्रतीक्षित खुर्कोट–चियाबारी सुरुङमार्गका लागि बजेट सुनिश्चित गर्ने उनको प्राथमिकतामा छ । सुनकोशी–मरिन डाइभर्सन सम्पन्न गर्नेदेखि लिएर जिल्लाका भित्री सडकहरू जस्तै बाहुनतिल्पुङ–धापचौकी र सिन्धुली–भिमस्थान–चकमके सडक खण्डको स्तरोन्नतिलाई उनले विशेष जोड दिएका छन् ।

विदेश होइन, आफ्नै क्षेत्रमा अवसर भन्ने नाराका साथ उनले जेन–जेड युवाहरूका लागि प्रविधि, सीप र लगानीलाई जोड्ने विशेष कार्यक्रम उम्मेदवार उज्वल बरालले ल्याएका छन् ।

1. जुनार, सुन्तला र अदुवा जस्ता बालीको सङ्कलन केन्द्र स्थापना।
2. वास्तविक किसानलाई सहुलियत कृषि कर्जा ।
3. कमला र तावा खोलामा तटबन्धन गरी खेतीयोग्य जमिनको संरक्षण ।
4. पर्यटन र संस्कृतिस् पहिचानको जगेर्ना।

सिन्धुलीगढीलाई युद्ध सङ्ग्रहालयका रूपमा विकास गर्ने र फिक्कल डाँडामा होमस्टे प्रवर्द्धन गर्ने उनको योजनाले जिल्लाको पर्यटनमा इँटा थप्ने देखिन्छ । साथै, दनुवार, हायु, माझी र तामाङ लगायतका जातजातिको भाषा र भेषभूषा संरक्षणमा उनले विशेष प्रतिवद्धता जनाएका छन् ।  

सरकारी विद्यालयलाई प्रविधिमैत्री बनाउने र कक्षा ९–१० देखि नै विद्यार्थीलाई करियर काउन्सिलिङ दिने उनको सोच आधुनिक छ । स्थानीय तहमा विशेषज्ञसहितको स्वास्थ्य सेवा र समुदायमा सांसद कार्यक्रममार्फत स्वास्थ्यमा सबैको पहुँच पुर्‍याउने उनको लक्ष्य छ ।  

तपाईंको आशिर्वाद र मत पाएमा म संसद्‌मा तपाईंको आवाज र क्षेत्रमा तपाईंको सेवक बनेर निष्ठापूर्वक काम गर्नेछु बराल भन्छन् रुख चिह्नमा मतदानको अपिल गर्दै मैदानमा उत्रिएका बरालको यो सङ्कल्पले सिन्धुलीमा कस्तो चुनावी रङ्ग ल्याउँछ, त्यो भने हेर्न बाँकी नै छ।