काठमाडौँ । मकवानपुर र गोरखाको चुनावी अनुभवपछि नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ यसपटक मधेशको चुनावी मैदानमा होमिएका छन्।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका श्रेष्ठका लागि यो निर्वाचन केवल एउटा सिटको लडाइँ मात्र नभई उनको राजनीतिक जीवनकै महत्वपूर्ण जनमत परीक्षण बन्ने देखिएको छ।
लामो समय राष्ट्रिय राजनीतिको केन्द्रमा रहेर उपप्रधानमन्त्रीसहित गृह, परराष्ट्र र भौतिक पूर्वाधार जस्ता महत्वपूर्ण मन्त्रालय सम्हालिसकेका श्रेष्ठको व्यक्तिगत छवि स्वच्छ र वैचारिक मानिन्छ।
जनयुद्धपछि माओवादीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउन र सत्ता समीकरण मिलाउन चतुर खेलाडी मानिने उनी २०३३ सालदेखि निरन्तर वाम आन्दोलनमा सक्रिय छन्। यद्यपि, उनको राजकीय उचाइ जति प्रभावशाली छ, प्रत्यक्ष निर्वाचनको नतिजा भने उत्ति नै चुनौतीपूर्ण रहँदै आएको छ।
यसअघि २०७० मा मकवानपुर र २०७४ मा गोरखाबाट पराजय भोगेका श्रेष्ठ यसपटक राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर प्रत्यक्ष निर्वाचित हुने धोकोसहित सर्लाही ओर्लिएका हुन्।
सर्लाही-३ को चुनावी मैदान श्रेष्ठका लागि सहज भने देखिँदैन। उनले यहाँ एमालेका हरि उप्रेती र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नरेन्द्र साह कलवार जस्ता स्थानीय स्तरमा बलियो पकड भएका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन्।
अघिल्लो निर्वाचनमा पहिलो र दोस्रो भएका यी दुवै प्रतिस्पर्धी श्रेष्ठका लागि मुख्य चुनौती हुन्। आफ्नो गृहजिल्ला गोरखा छोडेर मधेश झर्दा उनले ‘पर्यटक उम्मेदवार’ को आरोप र स्थानीय संगठनको कमजोरी जस्ता प्रतिकूलताको सामना गर्नुपर्ने देखिन्छ।
यद्यपि, भ्रष्टाचार विरोधी छवि र बागमती नगरपालिका जस्ता केही स्थानीय तहमा आफ्नो पार्टीको बलियो उपस्थितिले उनलाई चुनावी आशा जगाएको छ।
शिक्षण पेसाबाट राजनीतिमा पूर्णकालीन भएका र ६६ वर्षको उमेरमा पनि अविवाहित रहेर संगठनमा समर्पित श्रेष्ठका लागि यो निर्वाचन अग्निपरीक्षा जस्तै हो।
एकातिर उनीसँग शासन र कूटनीतिको गहिरो अनुभव र स्वच्छ छविको पुँजी छ भने अर्कातिर परम्परागत दलहरूप्रति बढ्दो जनअसन्तुष्टि र नयाँ राजनीतिक शक्तिको उदयले सिर्जना गरेको दबाब छ। मधेशको यो ‘ब्याटल ग्राउन्ड’ मा श्रेष्ठले आफ्नो राजनीतिक विरासतलाई चुनावी जितमा बदल्न सक्छन् वा सक्दैनन्, त्यसको छिनोफानो फागुन २१ गतेको मतदानले गर्नेछ।












प्रतिक्रिया दिनुहोस्