काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ को चुनावी मैदान यसपटक निकै रोचक मोडमा पुगेको छ।
विगतका दुई निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापासँग पराजित भएका नेकपा एमालेका सचिव डा. राजन भट्टराईका लागि यसपटकको समीकरण निकै अनुकूल देखिएको छ।
गगन थापा यसपटक काठमाडौं छोडेर मधेशको सर्लाही क्षेत्र नं. ४ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएपछि डा. भट्टराईलाई ‘क्लिन स्वीप’ गर्ने अवसर जुरेको एमाले वृत्तमा विश्लेषण सुरु भएको छ।
विगतमा गगन थापाको व्यक्तिगत क्रेज र बलियो सङ्गठनका कारण रक्षात्मक बनेका डा. भट्टराई यसपटक निकै आक्रामक चुनावी अभियानमा देखिएका छन्। कांग्रेसले थापाको स्थानमा युवा नेता सचिन तिमिल्सिनालाई मैदानमा उतारेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पुकार बम प्रतिष्पर्धामा छन् ।
कांग्रेसले नयाँ अनुहार ल्याएको र रास्वपाले युवा मत काट्न सक्ने आकलनका बीच एमालेको क्याडर बेस्ड मत नै डा. भट्टराईको जितको मुख्य आधार बन्ने देखिएको छ। भट्टराईले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो तीव्र पार्दै स्थिरता र प्रबुद्ध नेतृत्वको नारालाई जोडतोडले उठाइरहेका छन् ।
भूगोलको हिसाबले पनि डा. भट्टराईलाई यसपटक केही सहजता थपिएको छ। बुढानीलकण्ठ नगरपालिकाका पूर्व प्रमुख उद्धव खरेल जस्ता प्रभावशाली स्थानीय नेताहरू उम्मेदवारीको दौडबाट बाहिरिएर भट्टराईलाई सघाउन केन्द्रित हुनुले एमालेभित्रको आन्तरिक एकता बलियो देखिएको छ।
परराष्ट्र मामिलाका विज्ञ र बौद्धिक छवि भएकाले यस क्षेत्रका मध्यमवर्गीय र प्रबुद्ध मतदाताहरूमाझ डा. भट्टराईको स्वीकार्यता बढ्दो छ। विपक्षी दलका उम्मेदवारहरू नयाँ भएकाले मतदातामाझ परिचित अनुहार हुनुको लाभ पनि भट्टराईले पाउने देखिन्छ।
यद्यपि, काठमाडौं ४ का मतदाता सधैँ अनप्रेडिक्टेबल रहने गरेका छन्। कांग्रेसका तिमिल्सिना र रास्वपाका बमले युवा पुस्ताको मतलाई कत्तिको आकर्षित गर्छन् भन्ने कुराले डा. भट्टराईको विजय यात्रा निर्धारण गर्नेछ।
पछिल्लो समय एमालेको सङ्गठन सुदृढीकरण अभियान र गगन थापाको अनुपस्थितिले सिर्जना गरेको रिक्ततालाई उपयोग गर्न सके डा. भट्टराईले यसपटक संसदको यात्रा तय गर्ने सम्भावना प्रवल छ। क्षेत्र नं. ४ को यो रोचक भिडन्तले काठमाडौंको समग्र चुनावी नतिजामा नै प्रभाव पार्ने निश्चित छ।












प्रतिक्रिया दिनुहोस्