काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ मा मतदान सुरु भएको केही समयमै तनाव उत्पन्न भएको छ। बसबरिया गाउँपालिका–३ भवानीपुरस्थित जनता माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदाताहरूबीच विवाद र हुलदङ्गा भएपछि स्थिति तनावग्रस्त बनेको हो।
बिहान मतदान प्रक्रिया सुरु भएको केही बेरमै राजनीतिक दलका कार्यकर्ता र मतदाताबीच भनाभन सुरु भएको थियो। विवादले उग्र रूप लिएपछि मतदान केन्द्रमा केही समय भागाभागको स्थिति सिर्जना भएको प्रत्यक्षदर्शीले बताएका छन्। हुलदङ्गाका कारण मतदान प्रक्रिया करिब आधा घण्टा ठप्प भएको थियो।
स्थिति नियन्त्रण बाहिर जान नदिन घटनास्थलमा रहेका सुरक्षाकर्मीले तत्कालै पहल गरेका थिए। थप सुरक्षा बल परिचालन गरेर विवादलाई साम्य पारिएपछि अहिले उक्त केन्द्रमा पुनः मतदान सुचारु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
अहिले सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ र मतदाताहरू लाइनमा बसेर मतदान गरिरहेका छन्। यो क्षेत्रमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेश कुमार सिंहबीच मुख्य प्रतिस्पर्धा रहेकाले यस क्षेत्रलाई सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिएको छ।












प्रतिक्रिया दिनुहोस्