Logo

बागमती पेज

असार २६, २०७९ आईतबार

भारतले वर्षे धान रोपाईंका लागि मल नदिने निश्चित


काठमाडौँ । भारतले वर्षे धान रोपाईंका लागि मल नदिने निश्चित भएको छ । मलका लागि नेपाल–भारतबीच भएको जीटुजी सम्झौताको एक आर्थिक वर्ष सकिएपनि मल आउने कुनै छाँटकाँट दैखिएको छैन ।

मल ल्याउन पहलका लागि कृषि मन्त्रालयबाट मन्त्रीदेखि अन्य उच्च अधिकारीहरु पटक पटक भारत पुगेका थिए । उसो त पाँच वर्षको लगातार प्रयासपछि २०७८ फागुन १६ गतेमात्रै दुई देशको बीचमा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

असारे खेतीका लागि मल ल्याउन भन्दै तत्कालीन कृषिमन्त्री महिन्द्रराय यादव आफै पनि भारत गएका थिए । त्यहाँका सम्बन्धित मन्त्रीमा उनले एक हप्ताभित्र नै मल नेपाल पुग्ने आश्वासन दिएका थिए । मन्त्री यादव नेपाल आएपछि संसदमै गएर असारको १५ गतेभित्र भारतबाट रासायनिक मल आइपुग्ने दावी गरेका थिए ।

जीटुजीबाट आउने मलबाट नै किसानले धान रोप्न पाउने उनको प्रतिकृया थियो । तर ५० प्रतिशत भन्दा बढी रोपाईं भएर आइतबार असारको २६ गते भइसक्दा पनि मलको हाहाकार उस्तै छ ।