जनकपुरधाम । महोत्तरीमा श्रीमती र सासुको शरीरमा आगो लगाएर फरार रहेका श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ ।
२१ साउनको राती श्रीमती ३५ वर्षीया प्रमिला देवी र सासु ६५ वर्षीया रेशमा देवीको शरीरमा मट्टितेल छर्केर आगो लगाउने शंकर सदालाई पक्राउ गरिएको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिए ।
शंकरलाई नेपाल–भारतको सिमावर्ती क्षेत्रमा पर्ने महोत्तरीको सम्सी गाउँपालिका ६ स्थित सम्सी–कन्हवास्थित नेपाल क्षेत्रबाटै पक्राउ गरिएको बिष्टले बताए ।
श्रीमती प्रमिलाको परपुरुषसँग अवैध सम्बन्ध रहेको र त्यसमा सासुले पनि सघाउने गरेको आशंकमा शंकरले पटक–पटक झगडा गर्ने गरेका थिए । २१ साउनको राति सोही बिषयमा झगडा हुँदा शंकरले दुवैको शरीरमा मट्टितेल खन्याएर आगो लगाएको पाइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका शंकरबिरुद्ध ज्यान मार्ने कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्