Logo

बागमती पेज

आश्विन २, २०७७ शुक्रबार

एक क्विन्टल गाँजासहित दुई जना पक्राउ


चितवन । अवैध लागूऔषध गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले चितवनबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ती नगरपालिका-११ आँपपानीका २५ वर्षीय दोर्जे तामाङ र २४ वर्षीय पदमबहादुर मोक्तान रहेका छन् ।

गत भदौ २१ गते प्रहरीले राप्ती नगरपालिका दवाडी चोकबाट बेवारिसे अवस्थामा ५ वटा बोरामा पोको बनाइ राखेको अवस्थामा एक क्विन्टल गाँजा बरामद गरेको थियो । अनुसन्धानका क्रममा सो गाँजा ओसारपोसारमा उनीहरु संलग्न रहेको पाइएपछि बिहीबार प्रहरीले दुबै जनालाई राप्ती नगरपालिका-५ भण्डाराचोकबाट पक्राउ गरेको हो ।

चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य थापाका अनुसार लागूऔषध ओसारपोसारमा संलग्न मुख्य व्यक्ति राप्ती–१२ का ३० वर्षका बाबुराम थिङ भने फरार छन् । उनको खोजी भइरहेको छ ।

पक्राउ परेका दुबै जनालाई चितवन जिल्ला अदालतबाट म्याद गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । चितवनको पहाडी क्षेत्रमा गाँजा खेती हुँदै आएको छ । बेलाबेलामा प्रहरीले मिसन नै बनाएर गाँजा नस्ट गर्दै आएको छ ।