Logo

बागमती पेज

आश्विन ४, २०७७ आईतबार

११३ जना प्राविधिकलाई राजेश हमालले गरे जनही ५ हजार सहयोग


काठमाडौं । नेपाल चलचित्र प्राविधिक संघले नायक राजेश हमाललाई केही बर्ष अगाडि ‘महानायक’को उपाधि दियो । सोही समयदेखि आम दर्शक र चलचित्र क्षेत्रले हमाललाई ‘महानायक’ भन्न थालेको हो । उनै, नायक राजेश हमालले लकडाउनका कारण समस्यामा परेका ११३ जना चलचित्र प्राविधिकहरुलाई आर्थिक सहयोग गरेका छन् ।

चलचित्र प्राविधिक संघद्धारा काठमाडौंमा आयोजित एक कार्यक्रममा नायक राजेश हमालले ११३ जना प्राविधिकहरुलाई जनही ५ हजार रुपैयाँ प्रदान गरेका हुन् । नायक हमालले ५ लाख ६५ हजार रुपैयाँ प्राविधिकहरुका लागि सहयोग गरेको संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए ।

कार्यक्रममा बोल्दै नायक राजेश हमालले प्राविधिकहरु आफ्ना लागि सधै नै उच्च स्थानमा रहेको बताए । उनले, यो रकम ठूलो नभएपनि समस्यामा परेको समयमा केही सहयोग हुने अपेक्षा गरे । उनले, भोली समस्या बढ्दै गएको अवस्थामा अझै ठूलो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

नायक हमालले देश बाहिर रहेका केही आफ्ना साथीहरुले समेत यसमा सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए । नायक हमालले समस्यामा परेको समयमा आफूहरुलाई संझिएको भन्दै प्राविधिकहरुले खुशी व्यक्त गरेका थिए ।