Logo

बागमती पेज

आश्विन १७, २०७७ शनिबार

महामारी अन्त्यः ‘जेष्ठ नागरिकको स्वास्थ्य सुरक्षा हाम्रो दायित्व’ कार्यक्रम सम्पन्न


अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा बूनपा-१० ले ‘महामारी अन्त्यः जेष्ठ नागरिकको स्वास्थ्य सुरक्षा हाम्रो दायित्व’ कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा उपप्रमुख रमादेवी राईले जेष्ठ नागरिकको योग्यता, क्षमता अनुसारको काम गर्ने वाताबरण बनाउन आवश्यक रहेको बताईन् । उनले जेष्ठ नागरिकको हेरचाह गर्ने तालिम प्रदान गरिने र त्यस्ता जनशक्तिलाई घर-घरमा सेवा प्रदान गर्न आवश्यक रहेको बताईन् ।

नगर प्रवक्ता तथा वडाध्यक्ष नवराज भट्टराईले विश्वभर फैलिएको कोरोना महामारीबाट बृद्दबृद्धालाई जोगाउन हामी सबैले आ-आफ्नो स्थानबाट भूमिका खेल्नु पर्ने बताउँदै निकट भविष्यमा वडाले जेष्ठ नागरिक ज्ञान केन्द्र बनाउने योजना रहेको जानकारी गराए ।

ज्ञान केन्द्रमा प्रत्येक जेष्ठ नागरिकको ज्ञान सिप र विज्ञताको भण्डारण गरिनेछ अध्यक्ष भट्टराईले भने, त्यस ज्ञान सिपलाई विद्यार्थीले खोज तथा अनुसन्धान गर्न सक्ने रिसर्च सेन्टरको रुपमा समेत विकास गर्ने लक्ष्य रहेको बताए ।

जेष्ठ नागरिक समाजका अध्यक्ष उद्धव दाहालले विश्वभर फैलिएको माहामारीलाई मध्यनजर गर्दै रोग प्रतिधात्मक क्षमता बढाउन सत्तरी वर्ष नाघेका ३१८ जनालाई हौसला प्रदान गर्दै विभिन्न भिटामिन वितरण गरेकोमा खुशी व्यक्त गरे । दाहालले जेष्ठ नागरिकको हेरचाह गर्ने डे केयर सेन्टर स्थापना गर्नु पर्नेमा जोड दिएका थिए ।

बूनपा-१० को सभाहलमा भएको कार्यक्रमको संयोजन जेष्ठ नागरिक समाजले गरेको थियो ।