Logo

बागमती पेज

आश्विन १८, २०७७ आईतबार

प्रधानमन्त्रीका सल्लाहकारसहित बालुवाटारका ७६ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा कार्यरत ७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका स्रोतका अनुसार प्रधानमन्त्रीका सल्लाहकार, सचिवालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी चालकलगायत ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, फोटो ग्राफर राजन काफ्ले लगायतका सचिवालयका सदस्य समेत रहेका छन् ।

संक्रमितमध्ये रिमाल, भट्टराई, थापा र काफ्लेले आफूहरु संक्रमित भएको जानकारी दिएका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत संक्रमण भएकोबारे जानकारी दिँदै आफूहरुको सम्पर्कमा आउनेहरुलाई सचेत हुन सुझाएका छन् ।

कोरोना परीक्षण भएकामध्ये प्रधानमन्त्रीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको बालुवाटार स्रोतको भनाइ छ । तर बाक्लो भेटघाट र चहलपहल हुने बालुवाटारमा कार्यरत ७६ जनामा संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा रहेका धेरै कन्ट्याक्ट ट्रेसिङमा परेको बताइएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ३ सय २ रहेको छ । कुल संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजमात्रै २ हजार १ सय २० जना कोरोनाका संक्रमित थपिएका छन् । १२ हजार ९ सय ७८ पीसीआर परीक्षण भएकोमा आज ७ सय ६६ महिला र १२ सय ५४ जना पुरुषमा संक्रमण देखिएको हो । हालसम्म कोरोना निको हुनेको संख्या ६२,७४० रहेको छ ।