Logo

बागमती पेज

आश्विन २३, २०७७ शुक्रबार

धरहरा पुन:र्निर्माणको समय थपियो


Dharara धरहरा

काठमाडौं । निर्माणाधिन धरहराको निर्माण अवधि थपिएको छ । राष्ट्रिय पुन:निर्माण प्राधिकरणले २०७७ असोज २० गते (२०२० अक्टोबर ६ तारिख) भित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्नेगरी रमन कन्स्ट्रक्सनसँग २०७५ सालमा सम्झौता गरेको थियो । त्यसलगत्तै रमन कन्सट्रक्सनले २०७५ कात्तिक महिनादेखि निर्माण कार्य सुरु गरेको थियो । कोभिड १९ को कारण लकडाउन हुँदा निर्माण कार्य प्रभावित भएको भन्दै रमन कन्स्ट्रक्सनले २१ महिना थप समय माग गरेपनि राष्ट्रिय पुननिर्माण प्राधिकरणले नौ महिना समय थपेको छ ।

रमन कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर ई.श्यामचन्द्र श्रेष्ठले लकडाउनका कारण काम प्रभावित भएको र मुख्य म्युजियमको साइट भर्खरै प्राप्त भएकाले तोकिएको समयमै काम सम्पन्न नहुँदा समय थप्नुपरेको बताए । अहिले सम्म धरहराको १६ तल्ला ढलान भइसकेको जानकारी पनि श्रेष्ठले दिए । त्यसबाहेक धरहराको अन्डरग्राउण्डमा रहेको डबल बेसमेन्टको काम सम्पन्न भई ट्रिपल बेसमेन्टको काम भइरहेको पनि उनले बताए ।

जसमा ४ सय वटा सानो गाडि र ७ सयवटा मोटरसाइकल पार्किङ गर्न मिल्ने छ । त्यस्तै मुख्य म्युजियमको साइट भर्खरै प्राप्त भएकाले धेरै काम बाँकी रहेको उनले बताए । कोभिड १९ का कारण कामको रफ्तारमा असर पर्दा समयमै निर्माण सम्पन्न गर्न नसकिएको पनि उनको भनाई छ । अहिले थपिएको समयमा पनि पूर्ण रुपमा काम सम्पन्न गर्न चुनौती रहेको श्रेष्ठको भनाई छ ।

२२ तला रहेको धरहराको कुल लागत भ्याट सहित ३ अर्ब ४५ करोड रुपैयाँ छ । धरहराको कूल क्षेत्रफल ४२.२ रोपनी रहेको छ । धरहराको निर्माण कार्यमा लकडाउन अघि कूल ३ सय ५० जनाले काम गरेका थिए । लकडाउनको बेला पनि २०/२५ जनाको संख्यामा कामदार राखेर निर्माण गरिरहेको कम्पनीले अहिले भने २ सय ५० जना कामदारहरु मार्फत कामलाई तिब्रता दिएको बताएको छ ।