चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २० का अध्यक्ष मणिलाल तामाङको निधनप्रति महानगरपालिकाले गहिरो दुःख व्यक्त गरेको छ । महानगर प्रमुख रेनु दाहालले आइतबार शोक वक्तव्य प्रकाशित गर्दै दिवंगत तामाङप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेकी छन् ।
कोरोना संक्रमणबाट निधन भएका वडाध्यक्ष तामाङको सम्मानमा र मातहतका कार्यलय सोमबार एकदिन बन्द रहने शोक वक्तव्यमा उल्लेख छ ।
उनको भरतपुर अस्पतालमा उपचारको क्रममा आइतबारबिहान निधन भएको अस्पतालका कोभिड–१९ क्लिनिकका संयोजक डा प्रमोद पौडेलले जानकारी दिए । उनका अनुसार ६९ वर्षीय तामाङलाई उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि यही असोज २३ गते अस्पताल भर्ना गरिएको थियो ।
असोज १४ गते पिसीआर परीक्षण गरिएकोमा दुई दिनपछि कोरोना पुष्टि भएको थियो । उनीलाई मधुमेह, उच्च रक्तचापको समस्या रहेको संयोजक डा पौडेलले बताए । अस्पताल भर्ना गर्दा अक्सिजनको मात्रा ४० मा झरेपछि उनीलाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । अवस्था जटिल बन्दै गएपछि भ्यान्टिलेटरमा राखेर उपचारका क्रममा उनीको मृत्यु भएको हो ।
चितवन जिल्लामा कोरोना संक्रमणबाट पहिलोपटक जनप्रतिनिधिको मृत्यु भएको हो । तीन वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका तामाङ भरतपुर महानगरपालिका वडा नम्बर २० को अध्यक्षमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्