Logo

बागमती पेज

आश्विन ३०, २०७७ शुक्रबार

कोरोना संक्रमित स्वास्थ्यकर्मीः आफ्नो भन्दा विमारीको उपचारमा सक्रिय…


सिन्धुली । कोरोना संक्रमणको विषम परिस्थितिमा पनि सिन्धुली जिल्ला अस्पतालमा सक्रियतापूर्वक कार्यरत स्वास्थ्यकर्मी इन्दिरा पोखरेलले कोरोना जितेर घर फर्किने भएपछि प्रोत्साहन स्वरुप आर्थिक सहयोग गरिएको छ ।

कोरोना संक्रमण देखिएर निको भएका स्वास्थ्यकर्मीलाई आज अस्पताल व्यवस्थापन समितिले सम्मान गरेको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना संक्रमणका बेला पनि निरन्तर काम गरेको भन्दै कर्मचारीलाई सम्मान गरिएको हो ।

स्वास्थकर्मी इन्दिरा पोखरेललाई अस्पतालकै कामको सिलसिलामा रहँदा कोरोना संक्रमण भएको थियो । आफूलाई कोरोना संक्रमण भएर पनि उनले अन्य कोरोना पोजिटिभ देखिएका बिरामीहरुको उपचारमा निरन्तर लागेकी थिईन् । स्वास्थकर्मी पोखरेल भन्छिन्, घर परिवार तथा आफन्तलाई मेरो निकै चिन्ता थियो । तर मलाई भने अस्पतालमा उपचाररत विरामीकै चिन्ता ।

सिन्धुलीका समाजसेवी उज्ज्वल बिक्रम थापाले स्वास्थकर्मी पोखरेलको सेवाभावलाई एक उत्कृष्ट कर्मचारी रहेको भन्दै नगद ११ हजार दिएर उनलाई सम्मान गरिएको हो ।

स्वास्थ्यकर्मीलाई सम्मान गर्दै थापाले सामाजिक संजालमा लेखेका छन, ‘नारीको अनेकौं रुपमध्ये देवीको रुप कहिलेकाहीँ प्रत्यक्ष हेर्ने मौका पाइन्छ । कोभिड संक्रमण हुँने त्रास भएपछि उपचार सफलताको त्रास हामी सबैमाझ छाएको अवस्था छ । चेलीको बहादुरी र काम प्रतिको इमान्दारीतालाई सम्मान गर्दै ११ हजार रुपैयाँ दक्षिणा पठाएको छु।’

पोखरेल सम्पूणर् देशका युवाको प्रेरणाका श्रोत भएको उल्लेख गर्दै थापाले स्वास्थ्यकर्मी चेलीलाई नमन र कृतज्ञता पनि भनेका छन् ।