Logo

बागमती पेज

कार्तिक १७, २०७७ सोमबार

कान्ति बाल अस्पताललाई पीसीआर मेसिन हस्तान्तरण: सेवा चाडैं शुरु गर्न मेयर शाक्यको आग्रह


काठमाडौं । काठमाडौं महानगरपालिकाले कान्ति बाल अस्पताललाई एक थान पीसीआर मेसिन हस्तान्तरण गरेको छ । काठमाडौं महानगरपालिकासँग भगिनी सम्वन्ध स्थापित चीनको नानजिङ सहरले दिएका दुई मध्ये एक थान पीसीआर मेसिन कान्ति बाल अस्पताललाई आज हस्तान्तरण गरिएको हो ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र अस्पतालका तर्फबाट निर्देशक डाक्टर कृष्ण पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरी सो मेसिन हस्तान्तरण गरिएको थियो । करीब रु १६ लाख पर्ने सो मेसिन हस्तान्तरणपछि सम्वोधन गर्दै प्रमुख शाक्यले जति सक्दो छिटो मेसिन जडान गरी सेवा सुरु गर्न अस्पताललाई आग्रह गरे ।

‘भगिनी सम्वन्ध स्थापित भएका विभिन्न नगरहरुले काठमाडौं महानगरपालिकालाई कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि दिएका केही अत्यावश्यक स्वास्थ्य सामाग्री चरणबद्ध रुपमा हामीले सरकारी अस्पतालहरुलाई हस्तान्तरण गर्दै आएका छौँ,’ शाक्यले भने, ‘सेवा कस्ले दिने भन्दा पनि सबैले मिलेर सेवा दिनुपर्छ भन्ने मान्यताका साथ हामीले यस्ता अत्यावश्यक सामग्री विरामीको बढी चाप रहेका अस्पतालहरुलाई हस्तान्तरण गर्दै आएका छौँ । यो तेस्रो चरणको हस्तान्तरण कार्यक्रम हो ।’

‘कान्ति बाल अस्पताललाई पीसीआर मेसिन हस्तान्तरण गरेको यो प्रारम्भिक चरण हो,’ उनले भने, ‘तपाईँहरुले त्यहाँ उपचाररत बालबालिकालाई राम्रो सेवा दिनुहोस् । महानगरपालिका थप सहयोग गर्न तयार छ ।’

कार्यक्रममा बोल्दै कान्तिबालका निर्देशक डाक्टर पौडेलले महामारीविरुद्धको लडाईँ लडिरहेका बेला काठमाडौं महानगरपालिकाले गरेको यो ठूलो सहयोग भएको बताए । ‘हामी अहिले कोभिडविरुद्धको लडाईँमा छौँ,’ उनले भने, ‘यस्तो बेलामा महानगरपालिकाले निकै ठूलो सहयोग गरेको छ । अब एक हप्ता भित्रमा हामी सेवा सुरु गर्ने छौँ ।’

पौडेलले अहिले पनि दैनिक २० देखि ३० जनासम्मको परिक्षणका लागि नमूना अन्य ल्याबमा पठाउनु पर्ने बाध्यता रहेको भन्दै अब अस्पतालमै मेसिन जोडेपछि त्यो समस्या हट्ने बताए ।