Logo

बागमती पेज

कार्तिक २२, २०७७ शनिबार

मनोज गजुरेल आइसीयूमा हुँदा पूर्वपत्नी मीनाको भावुक सन्देश


कोरोना संक्रमण पुष्टि भएसँगै स्वास्थ्यमा थप समस्या देखिएपछि बलम्बुस्थित सशस्त्र प्रहरीको कोभिड अस्पतालको आईसीयूमा भर्ना भएका चर्चित हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्य लाभको कामना गर्दै उनकी पूर्वपत्नी मीना ढकालले एक भावुक सन्देश लेखेकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार उनले एक स्टाटस लेख्दै ढकालले शीघ्र स्वास्थ्य लाभको कामनासहित गजुरेल छिट्टै हार मान्ने मान्छे नभएको बताएकी छिन् ।

उनले आफू अहिले अलग भएपनि दुई सन्तानको जन्मदाताको रुपमा आजपनि गजुरेललाई उत्तिकै सम्मान र माया गर्ने उल्लेख गर्दै जतिसुकै मनमुटाव भएपनि सिकिस्त भएको खबर सुन्दा बेचैनी बढेको भावना पोखेकी छिन् ।

‘जिन्दगीले जुनसुकै मोड अख्तियार गरेको भएपनि तिमी कुनै समयको मेरो प्रेमी थियौ । मेरो आफ्नै जन्मदातालाई भन्दा बढी प्रेम तिमीलाई गरेरै तिमीसंग एकाकार भएकी थिएँ । हामी एक भएका थियौँ र म परम्परा अनुसार तिम्रो सिंदुरको ऋणी भएकी थिएँ’, उनले लेखेकी छिन्, ‘तिम्रो सेवालाई मेरो परम धर्म ठानेर तिमी संग मैले जिवनका विसौँ बर्ष पार गरेकी छु । तिम्रो र मेरो आत्मियताका साक्षी दुई प्राण छोरा र छोरी जन्माएकी छु। केही अपवादलाई बाहिर राखेर र मेरा केही खुशीहरुको गला रेटेरै पनि मैले तिमीलाई मेरो सिंगो जिन्दगी अर्पण गरेकी थिएँ । भलै समयले तिम्रो र मेरो बिचमा दुरी ल्यायो होला फेरिपनि मेरा दुई सन्तानको जन्मदाताको रुपमा आजपनि म तिमीलाई उत्तिकै सम्मान गर्छु र माया गर्छु। आज तिमी आईसियुमा उपचारारत छौ भन्ने समाचारले मलाई विक्षिप्त बनायो । जतिसुकै मनमुटाव भएको भएपनि तिमी सिकिस्त भएको म सहन नसक्ने नै रहेछु आज महसुस भइरहेछ।’

उनले गजुरेलको सुस्वास्थ्यको कामना गर्दै अगाडि लेखेकी छिन्, ‘तिम्रो जीवनसँग मेरा दुई सन्तान पनि जोडिएका छन। तिमी ठिक छौ र त उनीहरु ढुक्क छन, सुरक्षित छन् । छुट्टै भएपनि टाढै भएपनि तिम्रो सलामतीले मात्रै मेरा सन्तान सलामत छन, म यो रियलाइज गरिरहेछु ।’

गजुरेलमा गत कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । यसैबीच कलाकार गजुरेलका भाइ मोहनले अहिले दाइको अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।