Logo

बागमती पेज

कार्तिक २४, २०७७ सोमबार

कुलमानको ठाउँमा हितेन्द्र देव शाक्य !


काठमाडौं । उर्जा जलस्रोत तथा सिञ्चाइ मन्त्री वर्षमान पुनले एनइए इन्जिनियरिङ कम्पनीको प्रबन्ध सञ्चालकको जिम्मेवारीमा रहेका हितेन्द्र देव शाक्यलाई प्राधिकरणमा काज फिर्ता गराउन निर्देशन दिएसँगै उनले कार्यकारी निर्देशकको जिम्मेवारी पाउने चर्चा चुलिएको छ । गत शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले उनलाई काज फिर्ता गर्ने निर्णय गरेको थियो । आजै आफूले काज फिर्ताको पत्र पाएको शाक्यले बताए । उनले भने, ‘मैले पत्र त पाएँ, आजै बुझबुझारथ गरेर प्राधिकरण जान्छु ।’

उनी कार्यकारी निर्देशक बन्नका लागि आफ्नो सबै योग्यता पूरा भएको बताउँदै भन्छन,‘वरिष्ठको आधारमा हुनुपर्ने त म नै हो तर उर्जा मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद‍्ले टुङ्गो लगाउने भएकाले अहिले नै भन्न सक्ने अवस्था छैन ।’यद्यपि, सरकारले आफूलाई कार्यकारी निर्देशकको पनि जिम्मेवारी दिनेमा उनी विश्वस्त देखिन्छन् ।

प्राधिकरणका उपकार्यकारी निर्देशकहरूमध्ये उनी सबैभन्दा वरिष्ठ हुन् । रिक्त दरबन्दीमा सिनियरमध्येबाट नै जिम्मेवारी तोक्ने प्रावधान छ । प्राधिकणबाट उनी बाहिर रहेकाले उनले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाएनन् । यसकारण प्राधिकरणमै भएका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाए । अहिले उनले नै प्राधिकरण सम्हालिरहेका छन् । शाक्य फिर्ता भएपछि कोइराला भन्दा बरियतामा माथि रहेका शाक्यले निमित्त कार्यकारी निर्देशक पाउँनेछ र पछि उनलाई नै कार्यकारी निर्देशक दिने गरि तयारी थालिएको मन्त्रालय स्रोतले बताएको छ ।

४ वर्षे कार्यकाल पूरा गरेर गत भदौ २९ गते कुलमान घिसिङ बाहिरिएपछि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी कोइरालालाई तोकिएको थियो । कुलमानको कार्यकाल दोहोर्याउने अभिव्यक्ति मन्त्री पुनले दिएपनि अन्त्यमा मन्त्रिपरिषद‍्मा यो विषयले ठाउँ पाएन । क्याबिनेटले प्राधिकरणको कार्यकारी निर्देशकको विषय टुङ्गो लगाउन नसक्दा विभिन्न नामहरु बेला बेलामा चर्चामा आउने गरेको छ ।

यता आम माग भने कुलमानको कार्यकाल दोहोर्याउनुपर्नेमा छ । उनको कार्यकाल थपको माग गर्दै सडकमा स्वतस्र्फुत प्रर्दशन र नाराजुलुस समेत भएको थियो । पछि कुलमानले आफ्नो पक्षमा नारा जुलुस नगरिदिन आग्रह नै गरेका थिए ।

यसअघि कार्यकारी निर्देशकमा विद्युत विकास विभागका महानिर्देशक नविनराज सिंह, नेपाल पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवाली, प्राधिकरणका पूर्वसञ्चालक कृष्णप्रसाद दुलाल, प्राधिकरणका हितेन्द्र देव शाक्यको नाम चर्चामा थियो । यद्यपि कार्यकारी निर्देशक मन्त्रिपरिषद्को निर्णयबाट हुने हो । मन्त्रिपरिषदले यी कुनै पनि नाम अनुमोदन गरेको छैन् । तर, अब शाक्यको सम्भावना अधिक रहेको स्रोत बताउँछ ।