Logo

बागमती पेज

कार्तिक २६, २०७७ बुधबार

सिन्धुलीका एक सय जनालाई लालपूर्जा वितरण


सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिका भित्रका एक सय जनालाई जग्गाधनी लालपूर्जा वितरण गरिएको छ । तीनपाटनको-१, २ र ३ (साविकको पाटनदेवी, बेलघारी र भिमस्थान) गाउँ ब्लक क्षेत्रका एक सयजनालाई मङ्गलबार लालपूर्जा वितरण गरिएको हो ।

जग्गाधनी लालपूर्जा वितरण कार्यक्रममा बागमती प्रदेशसभा सदस्य प्रदिप कटुवाल, सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डे र तीनपाटन गाउँपालिका अध्यक्ष कर्ण थापा मगरले स्थानीयलाई जग्गाधनी पुर्जा वितरण गरेका छन् ।

नापी कार्यालय सिन्धुलीका प्रवक्ता पुरुषोत्तम दाहालका अनुसार, २०२८ सालमै नापी भएको तर बसोबास भएको क्षेत्रलाई गाउँ ब्लक भनेर राख्ने चलन रहेकाले हाल छुट्टाछुट्टै पूर्जा वितरण गरिएको हो ।

प्रवक्ता दाहालका अनुसार सिन्धुलीमा करिव पाँच सय घरधुरी गाउँ ब्लकका रुपमा रहेका छन् । सिन्धुलीको भिमान बजार, रानीवास, मरिण, खुर्कोटलगायतका स्थानमा त्यस्ता गाउँ ब्लक रहेका छन् । यो आर्थिक वर्षमा गाउँ ब्लकमा रहेका जग्गाधनीलाई पूर्जा दिइसक्ने लक्ष्य रहेको छ ।

नापी कार्यालय सिन्धुली र तीनपाटन-१ को सहकार्यमा पूर्जा वितरण कार्य सम्पन्न भएको हो । साविक पाटनदेवी गाउँपञ्चायतबाट सर्वेनापी भई गाउँब्लक क्षेत्र अन्तर्गतका एक सय जनालाई माध्यमिक विद्यालय बेलघारीमा कार्यक्रमबीच पूर्जा वितरण गरिएको थियो ।