Logo

बागमती पेज

मंसिर १२, २०७७ शुक्रबार

नागढुंगा-कलंकी सडकखण्डमा जडान गरिएका सिसी क्यामरा प्रहरीलाई हस्तान्तरण


काठमाडौं । नागढुंगा-कलंकी सडकखण्ड अन्तरगत जडान गरिएका सिसी क्यामरा प्रहरीलाई हस्तान्तरण गरिएको छ । चन्द्रागिरी नगरपालिकाको आर्थिक सहयोगमा जडान भएका उच्च प्रविधिका सिसी क्यामराको आज उद्घाटन गरी प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारका रुपमा रहेको नाढुंगाबाट कलंकीसम्मको सडकखण्डमा सिसि क्यामरा जडान भएका छन् । शान्ति सुरक्षालाई चुस्तदुरुस्त राख्न, ट्राफिक नियमको उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउन सिसी क्यामरा जडान गरिएको हो ।

राजमार्ग क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणमा सिसी क्यामराले सहयोग गर्ने विश्वास लिइएको छ । सिसी क्यामराको उद्घाटनपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले उपत्यका प्रवेश गर्ने मुख्य नाकामा सिसी क्यामरा जडान हुनु मानव सभ्यता, विकास र समृद्धिको प्रतिक भएको बताए ।

नगरपालिकाले छाटो समयमा सिसी क्यामरा जडान गरेपछि सडक सुरक्षा र अन्य आपराधिक गतिविधिलाई नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे । नगरपालिकाले एक करोडको लागतमा सिसी क्यामरा जडान गरेको हो । नगरपालिकाको वडा नं २ नागढुङ्गादेखि वडा नं १५ कलङ्कीसम्म राजमार्ग क्षेत्रमा ६७ क्यामरा जडान भएका छन् । उक्त क्यामराको निरीक्षण महानगरीय प्रहरी कार्यालय रानीपोखरीले गर्ने नगरप्रुमख घनश्याम गिरीले बताए ।