Logo

बागमती पेज

चैत्र २२, २०७९ बुधबार

महिनावारीमा पेट दुखे के गर्ने ? दुखाइ कम गर्ने घरेलु उपाय…


महिनावारी हुँदा प्रायलाई पेट दुख्छ । यस्तो अवस्थामा हल्का पेट दुख्नु स्वाभाविक हो । धेरैले यस्तो बेला घरेलु उपाय अपनाएर पेट दुखेको सन्चो पार्छन् । कसैलाई भने बढी नै दुख्ने भएकाले डाक्टरको सल्लाह लिन्छन् ।

महिनावारीमा पेट दुख्नु प्राकृतिक हो । यो वंशानुगत पनि हुन्छ । महिनावारीको बेला शरीरमा हर्मोनमा परिवर्तन हुन्छ । यो बेला पाठेघरभित्रबाट रगत बाहिर निस्कन्छ । रगत बाहिर निकाल्न पाठेघर प्राकृतिक रूपमै खुम्चिन्छ । पाठेघर खुम्चिएर रगत बाहिर निस्कने क्रममा पेट दुख्छ । तर, यसलाई सधैँ सामान्य र प्राकृतिक हो भनेर बस्नु हुँदैन ।

कस्तो अवस्थामा अस्पताल जानुपर्छ ?
पहिला–पहिला महिनावारी हुँदा पेट दुख्दैनथ्यो तर, पछि दुख्न थालेको छ भने यसलाई सामान्य रूपमा लिनु हुँदैन । पाठेघरको संक्रमण भएमा, पाठेघरमा ट्युमर भएमा, पाठेघर शल्यक्रिया गरेमा महिनावारीको बेला अत्याधिक पेट दुख्छ । पहिलाभन्दा धेरै रगत बग्ने, रगत डल्ला–डल्ला भएर बग्ने गर्न थाल्यो भने पनि यसलाई असामान्य लक्षणको रूपमा लिनुपर्छ । पाठेघरमा समस्या देखिएर यस्तो भएको हुन सक्छ । महिनावारी हुनुभन्दा एक साता अगाडिदेखि नै पेट दुख्न थाल्यो भने पनि राम्रो होइन । त्यस्तै, महिनावारी सकिएपछि पनि झन् धेरै पेट दुख्यो भने त्यो खतराको संकेत हो । महिनावारी भएको सात दिनसम्म पनि रगत बगिरह्यो भने पनि विचार पु¥याउनुपर्छ ।

महिनावारी हुनुभन्दा पहिला विभिन्न लक्षण देखिन्छन् । स्तन दुख्ने वा भारी हुने, मुड परिवर्तन हुने, चिडचिडाहपन हुने, थकाइ लाग्ने जस्ता लक्षण देखिन थाल्छन् । सामान्यतया महिनावारीमा तेस्रो दिनसम्म पेट दुख्छ । पेट दुख्दा सकेसम्म आफ्नो ध्यान अन्यत्र केन्द्रित गर्नुपर्छ । आफूलाई काममा व्यस्त राख्नुपर्छ । तर, यो अवस्थामा आरामको जरुरी हुने भएकाले गाह्रो हुँदाहुँदै भने काममा लाग्नु हुँदैन ।

दुखाइ कम गर्ने घरेलु उपाय
– तातोपानी पिउने
– पेट दुखेको ठाउँमा हट वाटर ब्यागले सेक्ने
– दुखेको ठाउँमा हलुका मालिस गर्दा दुखाइ कम हुन्छ
– तातो पानीले नुहाउँदा पनि पीडा कम गर्न मद्दत पुग्छ
– तातो र झोलिलो खानुपर्छ

महिनावारीका बेला भारी शारीरिक व्यायम गर्नुहुँदैन । तर, व्यायम नै गर्न नहुने भन्ने होइन । आफ्नो शरीरले थेग्न सक्ने सामान्य शारीरिक व्यायम गर्न सकिन्छ । महिनावारीमा पर्याप्त मात्रामा पोषिलो खानेकुरा खानुपर्छ । आराम गर्नुपर्छ । आफूखुसी औषधि खानुहुँदैन । केहीलाई सहनै नसक्ने गरेर पेट दुख्छ । यस्तो बेलामा घरेलु उपाय अपनाउनुभन्दा चिकित्सकको सहयोग लिनुपर्छ ।