Logo

बागमती पेज

मंसिर १५, २०७७ सोमबार

उद्योग वाणिज्य महासंघको कोषाध्यक्षका लागि आज निर्वाचन


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिको कोषाध्यक्ष नियुक्तिका लागि निर्वाचन हुने भएको छ ।

५४ औं साधारणसभामार्फत आएको नयाँ कार्यसमितिको पदपूर्तिमा अध्यक्ष शेखर गोल्छा र वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल पक्षबीच कसलाई बनाउने भन्नेमा विवाद देखिएपछि चुनावी प्रक्रियाबाट कोषाध्यक्ष चयन गर्न लागिएको हो ।

महासंघले सोमबार दिउँसो कोषाध्यक्षका लागि निर्वाचन गर्ने भएको छ । ५४औं साधारणसभाबाट शेखर गोल्छाको नेतृत्वमा आएको महासंघको पहिलो बैठकले कोषाध्यक्ष मनोनयन गर्न प्रस्ताव गरेको थियो ।

तर गोल्छा पक्षबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी शकुन्तला हिराचनलाई कोषाध्यक्षमा मनोनयन गर्न लागिएपछि एकलौटी निर्णय मान्य नहुने भन्दै ढकाल पक्षले विरोध गरेका थिए । कोषाध्यक्ष एकलौटी निर्णयबाट नभएर आपसी सहमतीमा चयन गरिनु पर्ने ढकाल पक्षका केन्द्रीय सदस्यहरुले माग राखेका थिए ।

यद्यपी सहमतिको वातावरण नबन्ने भएपछि अन्ततः दुबै पक्ष निर्वाचन प्रक्रियामा जाने सहतिमा पुगेको एक केन्द्रिय सदस्यले बताए ।

सहमति पछि महासंघको निमित्त कार्यकारी निर्देशक मीना श्रेष्ठ संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ । उक्त समितिले सोमबार दिउँसो महासंघको कार्यालयमा निर्वाचन गराउने तयारी गरेको छ । निर्वाचन प्रक्रिया अनुसार महासंघले आजै उमेदवारी मनोनयन गरेर आजै निर्वाचन गराउनु पर्नेछ ।

यद्यपी निर्वाचन प्रक्रियामा गएपनि अझैं सहमतिमै कोषाध्यक्ष चयन गर्नेमा महासंघ लागि परेको ती पदाधिकारीले जानकारी दिए । ती पदाधिकारीका अनुसार गोल्छा पक्षबाट हिराचन र ढकाल पक्षबाट डिबी बस्नेतलाई कोषाध्यक्षमा उठाउने तयारी गरिएको छ ।

आइतबार साँझ बसेको गोल्छा नेतृत्वको महासंघको पहिलो बैठकले विशिष्ट सदस्यमा पशुपति मुरारकालाई मनोनित गरेको छ । यसअघि महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल विशिष्ट सदस्य थिए ।

त्यस्तै महासंघको मानार्थ सदस्यमा किशोर प्रधानलाई नियुक्त गर्ने प्रस्ताव गरिएको छ । प्रधान हालैमात्र ढकालसँग वरिष्ठ उपाध्यक्षमा पराजित भएका व्यक्ति हुन् । निर्वाचनमा पराजित भएपनि प्रधानलाई पनि महासंघमा समेटिनु पर्ने भन्दै गोल्छा पक्षले प्रधानलाई मानार्थ सदस्या दिइनु पर्ने बताएको छ । तर ढकाल पक्षले सो बारे कुनै प्रतिक्रिया जनाएको छैन ।