Logo

बागमती पेज

मंसिर १७, २०७७ बुधबार

त्रिविको उत्तरपुस्तिका क्याम्पसमै जाँचिने


काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको क्याम्पसहरुका परीक्षा उत्तरपुस्तिका सम्बन्धित क्याम्पसमा नै जाँचिने भएको छ।

त्रिभुवन विश्वविद्यालयका रजिष्टार पेसल दाहलले यसपटक सम्बन्धित कलेजको उत्तरपुस्तिका सोही कलेजमै जाँचिने बताएका हुन् । उनले त्रिविले पठाएको विशेषज्ञको निगरानीमा उत्तरपुस्तिका विद्यार्थी पढेकै क्यामपसमा जाँचिने बताए ।

कोरोनाको कारण रोकिएको त्रिविको परीक्षाहरु भौतिक रुपमै सञ्चालन गर्ने निर्णयको साथ विश्वविद्यालयका तालिकाहरु सार्वजनिक गरिसकेको छ । परिक्षा स्थगित भएको ८ महिनापछि बल्ल त्रिविले भौतिक रुपमा परीक्षा गराउने निर्णय गरेको हो । यसपटक कोभिड-१९ का कारण होम सेन्टरमा नै परीक्षा गराउने त्रिविले निर्णय गरेको छ ।

गत चैतमा हुने भनिएको त्रिविको परीक्षा कोरोनाभाइरसको कारण स्थगित भएको थियो । त्यसपश्चात त्रिविले अवस्था सामान्य भएको अवस्थामा परम्परागत शैलीमा भदौ दोश्रो हप्तादेखि सबै स्थगित परीक्षाहरु संचालन गर्ने भन्दै सूचना जारी गरेको थियो । दशैं अगाडि त्रिविको सेमेष्टर र वार्षिक प्रणालीका सबै त्रिविको सबै परीक्षाहरु हुने बताएको थियो र पुन: त्यसलाई सच्याउँदै छठपछि सबै परीक्षा सञ्चालन गर्ने बताएको थियो ।

यसअघि अनलाइन मार्फत पनि परीक्षा स‌ञ्चालन हुने भन्दै त्रिविले बताए पनि विद्यार्थीको स‌ंख्या धेरै भएको कारण निकै कम स‌ंख्यामा विद्यार्थी भएको स‌ंकायको परीक्षा मात्र अनलाइन मार्फत गराएको थियो ।

भौतिक रुपमा परीक्षा हुने भएसँगै त्रिविले आफु अन्तर्गतको सबै क्याम्पस, विभाग र स्कुलहरुलाई स्थानिय निकायले तोकेको समयसिमा र मापदण्डभित्र रहने गरी कक्षा संचालन गर्न निर्देशन दिएको छ । त्रिविले यस्तो सम्भव नभएको अवस्थामा अन्य वैकल्पिक विधिको प्रयोग गरी नियमित कक्षाहरु सञ्चालन गर्न पनि निर्देशन दिएको छ।