Logo

बागमती पेज

मंसिर १९, २०७७ शुक्रबार

अन्ततः खुल्ने भयो सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षा


काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ प्रक्रिया खुल्ने भएको छ । यातायात व्यवस्था विभागले बुधबार एक सूचना जारी गर्दै नयाँ लाइसेन्सका लागि अनलाइनमार्फत आवेदन खुला गर्न लागिएको जनाएको छ । विभागले प्रदेश कार्यालयहरुको मागका आधारमा लाइसेन्सको लिखित तथा ट्रायल परिक्षाका लागि अनलाइन फारम खुल्ला गर्न लागिएको जनाएको हो ।

तर, अनलाइन फारम तथा परीक्षा सञ्चालन गर्ने सम्बन्धमा भने स्वयम् प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय तथा यातायात कार्यालयहरुको स्वःअधिकार हुने विभागले जनाएको छ । ‘नयाँ लाइसेन्सको आवेदन खुल्ला गर्ने,परीक्षा सञ्चालन गर्ने र यातायात सम्बन्धी नवीकरण, दर्ता लगायतका अधिकार विभागले सम्बन्धीत प्रदेशहरुलाई नै दिइसकेको छ ।

थप अन्योलताका बीच हामीले कोभिड–१९ पछि आवेदन खोल्ने सम्बन्धमा प्रदेश कार्यालयहरुलाई आवश्यक स्वास्थ्य सुरक्षाका प्रोटोकल अपनाई खोल्न सकिने भनिसकेका । तर कहिलेबाट खोल्ने र कसरी खोल्ने भन्नेमा भने स्वयम प्रदेश सरकारहरुको स्वःविवेकको कुरा हो । यसका लागि तयारी अवस्थामा रहन विभागले सम्बन्धित प्रदेशलाई भनेका हौं’ यातायात व्यवस्थापन विभागका महानिर्देशक गोगनकुमार हमालले बताए ।

यस्तो आवेदन प्रक्रिया पुर्याएर स्वास्थ्य सुरक्षालाई समेत ध्यानमा राखेर प्रदेश यातायात कार्यालयहरुले तत्काल खोल्न सक्ने महानिर्देशक हमालको भनाई छ । विभागबाट यस्तो सूचना आएसँगै प्रदेश सरकार भौतिक पूर्वाधार तथा विकास मन्त्रालयहरुले नयाँ लाइसेन्सको प्रक्रिया अघि बढाउने भएका छन् ।

बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले अबको एक दुई दिनभित्रै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फारम तथा परीक्षा खोल्ने तयारी गरेको छ । कोभिड–१९ को संक्रमण र सन्त्रास कायमै रहिरहेको अवस्थामा स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै लाइसेन्सको परिक्षालाई व्यवस्थित बनाउने गरी मन्त्रालयले तयारी थालेको भौतिक पूर्वाधार विकास मन्त्रालय, बाग्मतीका सूचना अधिकारी राजन पोखरेलले जानकारी दिए ।

त्यस्तै, गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले पनि एक दुई दिनभित्रै लाइसेन्सको प्रक्रिया अघि बढाउने तयारी गरेको छ । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय, गण्डकीका सूचना अधिकारी डोलराज पराजुलीले प्रदेशभित्र केहि दिनभित्रै अनलाइन फारम खुल्ला गर्दै लाइसेन्सको लिखित तथा ट्रायल परीक्षा सञ्चालन गर्न लागिएको बताए ।

यस्तै, प्रदेश १, प्रदेश २, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले समेत केहि दिनभित्रै लाइसेन्सको प्रक्रिया अघि बढाइने गरी तयारी थालिएको जनाएका छन् । कोभिड–१९ को प्रकोपसँगै गत चैत ११ गतेदेखि मुलुक पूर्णतः लकडाउनमा गएसँगै नयाँ लाइसेन्सको लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा प्रभावित हुँदै आएको छ ।