Logo

बागमती पेज

मंसिर २१, २०७७ आईतबार

बाल अपाङ्ग टेवाद्वारा ५८ जनालाई ह्वीलचेयर प्रदान


काठमाडौं । बाल अपांग टेवा संस्थाले अपांगता भएका बालबालिका तथा व्यक्तिहरूलाई ह्वील चेयर बितरण गरेको छ । संस्थाले शनिबार एक कार्यक्रम आयोजना गरी ५८ वटा ह्वीलचेयर अपांगता भएका ब्यक्तिहरुलाई बितरण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले ह्वीलचेयर बितरण गरेका थिए ।

नेपाल सरकारका प्रवक्ता समेत रहेका गुरुङले अपाङ्ग दिवसको अवसरमा ह्वीलचेयर वितरण गर्दै डिजिटल नेपाल बनाउने अवधारण अनुरुप अब मुलुक डिजिटल हुने र जसको माध्यमबाट अपाङ्ग व्यक्तिले घरमै बसीबसी विश्वसँग जोडिने बताए । ह्वीलचेयर बितरण कार्यक्रममा प्रमुख अतिथि गुरुङले अपांगता भएका ब्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्तादेखि विभिन्न खालका सुविधा दिनका लागि सरकारले अध्यादेश नै ल्याएको जानकारी गराए ।

उक्त कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रतिनिधिसभाका सांसद यज्ञराज सुनुवार, बागमती प्रदेशका सांसद कुसुमकुमार कार्की लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा मन्त्री दुलालले बाल अपाङ्ग संस्थालाई जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए । उनले बाल अपाङ्ग संस्थालाई अपाङ्गता भएका बालबालिकाको संरक्षणका लागि आवश्यक जग्गा प्रदान गर्न प्रदेश सरकार सकारात्मक रहेको बताए । बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्वव खरेलले बाल अपाङ्ग संस्थाका अध्यक्ष डेण्डी शेर्पाको कार्यको प्रशंसा गर्दै संस्थाका लागि जग्गा प्रदान गर्ने आश्वासन दिए ।

कार्यक्रममा समाज कल्याण परिषदका सदस्य सचिब पुस्कर खाती, बूढानीलकण्ठ नगरपालिका वडा न १०, १२ र १३ का का वडाध्यक्षहरू नवराज भट्टराई, शम्भु भट्टराई र श्रीकृष्ण श्रेष्ठको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अमेरिकी संस्था wheelchair foundation को सहयोगमा प्राप्त विभिन्न प्रकारका ५८ थान ह्वीलचेयर बिभिन्न संघ संस्था एवं अपांग व्यक्तिहरुलाई प्रदान गरिएको छ । शारीरिक रुपमा अशक्त २३ जना महिला एवं ३५ जना पुरुषले सहाराको रुपमा ह्वीलचेयर प्राप्त गरेका छन् । उक्त कार्यक्रममा प्रदान गरिएका ह्वीलचेयर मध्ये शारीरिक रुपमा पूर्ण अशक्तले प्रयोग गर्ने ह्वील चेयर (सीपी) १६ थान र एक्टिभ ह्वीलचेयर ४२ थान प्रदान गरिएको थियो ।

उक्त कार्यक्रमको संचालन संस्थाका उपाध्यक्ष यवं समाजसेवी ध्रु्रवराज न्यौपानेले गरेका थिए । आयोजक संथा बाल अपांग टेवा संस्थाका अध्यक्ष डेण्डी शेर्पाले संस्थाले निरन्तर रुपमा ह्वीलचेयर वितरण कार्यक्रम संचालन गरिरहेको बताए ।  हालै मंसिर १४ गते प्रदेश न १ को राजधानी बिराटनगरमा मुख्य मन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा कार्यक्रम गरी मार्फत् पनि ह्वील चेयर वितरण गरिएको समेत जानकारी गराए ।